देशमा अहिले रावणराज चलेको छ : डा. लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावण प्रवृत्तिको राज चलेको भन्दै यसलाई अन्त्य गर्ने प्रण सबैले गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको बिरोधसभामा सम्बोधन गर्दै डा. लोेहनीले पाँच हजार वर्षभन्दा पुरानो इतिहास भएको नेपालको पहिचान र अस्तित्व बचाउन राष्ट्रवादी शक्ति अघि बढेको बताउनुभयो ।
उहाँले जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको बताउनुभयो ।
डा. लोहनीले भन्नुभयो, ‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ । रावण भनेको अहंकार हो, अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो । त्यो रावण प्रवृत्ति हो ।’
उहाँले रावण प्रवृतिको विरोधमा आफूहरुको लडाइँ रहेको र त्यसलाई मासेर छोड्ने चेतावनी दिंदै जनताको शोषण गरेर देशलाई केही नदिइ आफ्नो पेट भर्ने प्रवृति छाड्न नवीन समझदारी गरेर देश बचाउन सरकारसंग आग्रह गर्नुभयो ।
सम्बोधन गर्दै डा. लोहनीले आफूहरू संवैधानिक राजतन्त्रको पक्षमा रहेको भन्दै संवैधानिक राजतन्त्रले आम नगरिकलाई एकतामा बाँध्ने र मनोवैज्ञानिक सुरक्षा प्रदान गर्ने बताउनुभयो ।
यसै गरी डा. लोहनीले चैत १५ गते पक्राउ गरेका आफ्ना पार्टीका नेताहरूलाई तत्काल रिहाई गर्न माग गर्दै अहिलेको शासन व्यवस्थामा देखिएको विकृति र विसंगतिले अन्तर्राष्ट्रिय स्तरमा देशका छवि धूमिल भएको उल्लेख गर्नुभयो ।
देशको विकास र समृद्धिका लागि राष्ट्रवादी शक्ति अघि आउनुको विकल्प नरहेको बताउँदै डा. लोहनीले वर्तमान सरकार राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउनुभयो ।
उहाँले विगतमा नेपालको राष्ट्रिय प्रतिष्ठा उच्च रहेको बताउँदै त्यतिबेला युरोपका कतिपय मुलुकमा नेपालीलाई उतैबाट भिसा दिने गरेको स्मरण गर्दै आजको अवस्था अत्यन्त नाजुक रहेको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्