प्रधानमन्त्री ओलीको स्पष्टोक्ति- लकडाउन जारी रहने, नेपाल भारत सीमामा थप कडाई
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट बच्ने एकमात्र उपाय लकडाउन र सिमाना नाका बन्दलाई निरन्तरता दिन र नेपाल भारत सीमामा थप कडाई गर्ने जनाउ दिंदै सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई सोही अनुसार गर्न निर्देशन दिनुभएको छ ।
शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसंगको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन हतारमा लकडाउन हटाए भोलि थप संकट आउन सक्नेतर्फ सचेत हुनुपर्ने जानकारी दिंदै जारी लकडाउन निरन्तर रहने जानकारी दिंदै नेपाल–भारत सीमा नाकामा थप कडाइ गरिने बताउनुभएको छ ।
मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुने भन्दै लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने बताएका हुन् । उनले लापरबाही स्वीकार्य नहुने भन्दै संक्रमण फैलिनबाट सबै सचेत हुन अनिवार्य रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ, ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा–देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म सबैमा अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्दै सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्