विश्व समाचार

कोरोना संक्रमण : डिसेम्बर ३१ देखि अप्रिल ११ सम्म शून्यबाट एकलाखको मृत्यु, १७ लाख संक्रमित

सुरुवाती दिन अर्थात् ३१ डिसेम्बर, २०१९ दिउँसो चीनको वुहानमा एउटा नौलो रोग फेला परेको खबर आयो, यो रोगले महामारी फैलन सक्ने चिनीया चिकित्सकले पनि दिए । यो रोग हेर्दा सामान्य रुघा, खोकी र ज्वरोबाट सुरु भएर स्वासप्रस्वास अबरुद्ध हुने थियो ।

कोरोना संक्रमण सुरु भएको २० दिनपछि चीनका विशेषज्ञले कोरोना मान्छेबाट मान्छेमा सर्छ भन्ने पुष्टि गरे । चिनीयाँ श्वासप्रश्वास विशेषज्ञ झोङ नानशानले पहिलोपटक सरकारी टेलिभिजन च्यानलमा ग्वाङडाङ प्रान्तमा कोरोनाका दुई जना बिरामी फेला परेको र उनीहरूको वुहानसँग प्रत्यक्ष सम्बन्ध नभएको भन्दै कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने खुलासा गरे ।

त्यससंगै कोरोनाले पूरै चीनलाई लपेटमा लिएको थियो । त्यसै साता राति चार जना नयाँ बिरामीमा कोरोना पुष्टि भए। त्यसको दुई दिनपछि बिरामी संख्या १३९ पुग्यो। भोलिपल्ट राजधानी बेइजिङ र सांघाईमा पनि बिरामी भेटिए ।

उता जापान, दक्षिण कोरिया र अमेरिकामा फाट्टफुट्ट कोरोना बिरामी देखिन थाले । वासिङ्टन राज्यमा ३५ वर्षीय पुरुष उच्च ज्वरो र खोकीले अस्पताल भर्ना भए। उनी केही दिनअघि वुहानबाट फर्किएका थिए। परीक्षण गर्दा कोरोना पुष्टि भयो । यो अमेरिकाको पहिलो कोरोना संक्रमण हो थियो ।

दुई दिनपछि अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ब्रिफिङ’ गरे। ट्रम्पले चासो दिएनन्। वासिङ्टन पोस्टका अनुसार उनले कुराकानी बीचैमा अलमल्याएर ‘सुगन्धित भेपिङ कहिलेदेखि बजारमा आउँछ’ भनी प्रश्न गरेका थिए । अमेरिकाले वास्ता गरेन अहिले संसारमै सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा भैरहेको छ ।

त्यतिबेला सामान्य मानिएको यो रोग फैलन सुरु भएको १०० दिन बितेको छ र यसबीचमा १७ लाखभन्दा बढी संक्रमित र १ लाख बढीको मृत्यु भएको छ । चीनबाट फैलिएको यो रोग अहिले युरोप र अमेरिकालाई तहसनहस पार्ने दिशातिर अग्रसर छ ।

नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्रमित भएका छन् भने एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी (७७ हजार ५२५) रहेको छ । चीनले आन्तरिक सङ्क्रमण रोकिएको भन्दै लामो समयदेखि बन्द रहेको व्यवसायिक कामकाजलाई सावधानीका साथ सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।

इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन (१६ हजार ३५३), फ्रान्स (१३ हजार १९७), बेलायत (आठ हजार ९५८), इरान (चार हजार २३२), बेल्जियम (तीन हजार ३४६), चीन (तीन हजार ३३९) जर्मनी (दुई हजार ७३६) र नेदरल्याण्डमा (दुई हजार ५११) रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी अमेरिका (पाँच लाख तीन हजार १७७), स्पेन (एक लाख ६१ हजार ८५२), इटली (एक लाख ४७ हजार ५७७), फ्रान्स (एक लाख २४ हजार ८६९) जर्मनी (एक लाख २२ हजार १७१), चीन (८१ हजार ९५३), बेलायत (७३ हजार ७५८), इरान (६८ हजार १९२), टर्की ४७ हजार २९ र बेल्जियममा (२८ हजार १८) रहेको छ । इटली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ ।

अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको सङ्ख्या न्यून रहेको छ तर चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या अमेरिका इटली र फ्रान्समाभन्दा तुलनात्मक रूपमा केही बढी रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.