कर्पोरेट/पर्यटनबिचार

विविधताको संगम ऐतिहासिक चित्लाङ

आजभोलि नेपालका हरेक क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेका छन् । आफ्नै विशिष्ट पहिचान र सौन्दर्यले भरिपूर्ण क्षेत्रहरुमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । सूचना प्रविधिको विकास र सामाजिक सञ्जालमा हुने प्रचारप्रसारले नेपालीहरुमा भ्रमण संस्कृति विकसित हुन थालेको छ ।

काठमाडौं उपत्यका, यसका वरिपरीका डाँडाकाडादेखि देशका विभिन्न जिल्लामा रहेका धार्मिक, सास्कृतिक, प्राकृतिक सुन्दरताले भरिएका रमणीय स्थलहरुमा नेपालीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । त्यस्तै स्थानमध्ये एक हो चित्लाङ । चित्लाङ नेपालको  प्राचीन र ऐतिहासिक बस्ती हो ।

चित्लाङको भौगोलिक बनावट पनि निकै रोचक र विविधतापूर्ण छ । यो क्षेत्र मुख्यतः पहाडी भू–भागमा अवस्थित छ, जहाँ साना–ठूला डाँडाकाँडा, खोँच, नदी तथा खोल्साहरू पाइन्छन् । पहाडका भित्ताहरूमा बनेका बस्तीहरू वेंसीका खेतीयोग्य जमिनहरूले यहाँको भौगोलिक संरचनालाई आकर्षक बनाएका छन् ।

उर्वर माटो भएकाले कृषि पनि राम्रोसँग हुने गर्दछ । यहाँका किसानहरू धान, मकै, गहुँ, कोदो लगायत विभिन्न अन्नबाली उत्पादन गर्छन् । पहाडको काखमा बनेका खेतबारी र टेरेस खेतीले यहाँको भौगोलिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ । प्राकृतिक जलस्रोतहरूको उपलब्धताले यहाँको जीवनशैलीलाई सहज बनाएको छ ।

चित्लाङ सांस्कृतिक दृष्टिले पनि निकै धनी क्षेत्र हो । यहाँ विभिन्न जातजाति र सम्प्रदाय बसोबास गर्छन्, जसले गर्दा सांस्कृतिक विविधता देख्न पाइन्छ । प्रत्येक समुदायका आफ्नै भाषा, भेषभूषा, रीतिरिवाज र परम्परा छन् । यहाँका मानिसहरू अतिथिप्रेमी, सहयोगी र मिलनसार स्वभावका हुन्छन् ।

स्थानीय पर्व–उत्सवहरू जस्तै दशैं, तिहार, माघे सङ्क्रान्ति, तीज आदिलाई ठूलो उत्साहका साथ मनाइन्छ । यस्ता चाडपर्वहरूले यहाँको सामाजिक एकता र सांस्कृतिक समृद्धिलाई झल्काउँछन् । यसका साथै यहाँका लोकसंस्कृति र परम्परागत कला पनि महत्वपूर्ण छन् । स्थानीय गीत, नृत्य र लोकवाद्यहरू यहाँको सांस्कृतिक पहिचानका महत्वपूर्ण पक्ष हुन् । विवाह, पर्व तथा विशेष अवसरहरूमा लोकनृत्य र गीत प्रस्तुत गरिन्छ । यसले स्थानीय संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

परम्परागत घरहरू, स्थानीय भोजन र दैनिक जीवनशैलीले चित्लाङको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाएको छ । यसैले यहाँ होम स्टे -घरबास) संचालनमा छन् भने सुविधासम्पन्न रिसोर्टहरुले उत्तिकै आकर्षण गर्दछन् । रिसोर्टहरुमा पनि आफ्नै खेतबारीका अन्न, तरकारी खुवाइने चित्लाङको विशेषता हो ।

चित्लाङ प्राचीन समयदेखि नै मानव बसोबास भएको स्थान मानिन्छ । यहाँ विभिन्न पुरातात्विक अवशेषहरू भेटिएका छन्, जसले यसलाई प्राचीन सभ्यताको केन्द्रको रूपमा देखाउँछ । काठमाडौँ उपत्यका प्रवेश गर्ने पुरानो मार्गको रूपमा पनि यो क्षेत्र चिनिन्थ्यो । त्यस्तै काठमाडौँ उपत्यका र भारतबीचको प्रमुख व्यापारिक मार्गका रुपमा पनि चित्लाङ थियो ।

चित्लाङको राजनीतिक महत्व १२ औं शताब्दीसम्म पुग्छ । मल्लकाल -१२औँ–१८औँ शताब्दी)मा चित्लाङ काठमाडौँ उपत्यकामा प्रवेश गर्ने रणनीतिक नाका थियो भने नेपाल एकीकरणपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले काठमाडौँ–तराई मार्ग सुधार गर्न पहल गरेको इतिहासकारहरु बताउँछन् । त्यसपछि यो मार्ग प्रशासनिक र सैनिक दृष्टिले पनि प्रयोग भएको थियो ।

चित्लाङको प्राकृतिक सौन्दर्यको चर्चा गर्दा यहाँको रमणीय दृश्य, हरिया वनजंगल, डाँडाकाँडा र शान्त वातावरणको उल्लेख गर्नैपर्छ । वरिपरि फैलिएका घना वनहरूले यहाँको वातावरणलाई स्वच्छ र हरियालीयुक्त बनाएका छन् । विभिन्न प्रकारका रुखबिरुवा, जडीबुटी र वन्यजन्तु पाइन्छन् ।

लेकदेखि वेंसीसम्म फैलिएको चित्लाङ विहानको समयमा पहाडबाट देखिने सूर्योदय र बेलुकीको सूर्यास्तको दृश्य अत्यन्त मनमोहक हुन्छ । स्वच्छ हावा, शीतल वातावरण र प्राकृतिक सुन्दरताले यहाँ आउने जो–कोहीलाई आनन्दित बनाउँछ । प्रकृतिप्रेमी र शान्त वातावरण खोज्ने व्यक्तिहरूका लागि चित्लाङ उत्कृष्ट स्थान हो ।

चित्लाङमा पर्यटकीय सम्भावना अत्यन्त व्यापक रहेको छ । आजसम्म जेजति पूर्वाधार विकास भएको छ यो पर्याप्त छैन । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक विविधताका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई अरु बढी आकर्षित गर्न सकिन्छ । यहाँको बसाई अवधि लम्ब्याउन सकिन्छ । किनभने यो क्षेत्र पदयात्रा -ट्रेकिङ), प्रकृति अवलोकन, ग्रामीण पर्यटन र सांस्कृतिक र कृषि पर्यटनका रुपमा विकास गर्न सकिन्छ । पहाडका डाँडाबाट देखिने सुन्दर दृश्य, हरियाली वन र शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव दिन्छ ।

सरकारी तथा निजी क्षेत्रले पूर्वाधार विकासमा ध्यान दिने हो भने चित्लाङ नेपालको पर्यटन विकासका लागि राजधानीबाट निकटको नयाँ गन्तव्यका साथै अझ महत्वपूर्ण केन्द्र बन्न सक्छ । सडक, आवास, होटल तथा होमस्टे जस्ता सुविधाहरूको विकासले पर्यटकलाई अरु आकर्षित गर्न मद्दत पु¥याउँछ । अहिले जति संचालनमा रहेका छन्, त्यो पर्याप्त छैन ।

कृषि पर्यटनका रुपमा स्थानीय स्तरमा होमस्टे कार्यक्रमलाई अभियानकै रुपमा विकसित गर्नुपर्ने आवश्यकता छ । शहरी कोलाहलबाट अलिकपर, शान्त, रमणीय यहाँ पर्यटकलाई गाउँको जीवनशैली अनुभव गर्ने अवसर दिन सकिन्छ । यसका साथै चित्लाङको सांस्कृतिक कार्यक्रम, स्थानीय खाना र परम्परागत जीवनशैलीलाई पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

यसै गरी स्थानीय उत्पादनहरू जस्तै हस्तकला, जडीबुटी, अर्गानिक कृषि उत्पादनहरूलाई पनि पर्यटनसँग जोडेर आर्थिक विकास गर्न सकिन्छ । यदि सरकारी तथा स्थानीय निकायले योजनाबद्ध रूपमा पर्यटन विकासको पहल गरे भने चित्लाङ निकट भविष्यमा प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना अत्यन्त उच्च छ । चित्लाङ विस्तारै पर्यटनको लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

यहाँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक मार्गहरू, र ग्रामीण जीवनशैलीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । चित्लाङ आफ्नो प्राकृतिक सौन्दर्य, विविध भौगोलिक बनावट, मौलिक सांस्कृतिक परम्परा र बढ्दो पर्यटकीय सम्भावनाका कारण विशेष महत्व राख्ने क्षेत्र भएकाले यसको सौन्दर्यलाई कायम राख्दै प्राकृतिक सम्पदाको संरक्षणमा कडाई गर्नु उत्तिकै आवश्यक पक्ष बनेको छ ।

इतिहास, परम्परा, धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक दृष्टिले अत्यन्त महत्वपूर्ण चित्लाङको हरियाली, शान्त वातावरण, विविध संस्कृति र प्राकृतिक स्रोतहरूले यस स्थानलाई विशेष बनाएका छन् । उचित संरक्षण, विकास र प्रचारप्रसार भएमा चित्लाङ पर्यटनका दृष्टिले नेपालकै उत्कृष्ट क्षेत्र बन्नेका कसैको विमती छैन । त्यहाँ पुग्ने जो कोही एकछिन हेरेको हे¥यै गर्नुपर्ने प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र पर्यटकीय हिसाले उज्ज्वल भविष्य भएको स्थान बन्न सक्छ । यसै गरी अध्ययन, अनुसन्धान गर्न चाहने अध्येताहरुका लागि पनि यो एउटा विशेष क्षेत्र बन्नसक्छ । तिब्बत–नेपाल–भारतबीचको व्यापारिक मार्गका रुपमा स्थापित यो क्षेत्र अहिले देश–विदेशमा चर्चामा रहेको छ ।

बजारका प्याकेटवाला खानेकुरा खाँदा खाँदा वाक्कदिक्क भएकाहरुलाई चित्लाङको खेतबारीमा फलेका–उम्रेका अन्न, तरकारी, फलफूलको स्वाद लिन पाउनु पनि भाग्यकै कुरा हो । स्थानीय उत्पादनले बजार नपाउला भन्ने छैन । कृषिकर्म, पशुपालन लगायतका विविध पक्षलाई उजागर गर्न यहाँका रिसोर्टहरुमा परम्परागत नेपाली घरेलु सामानहरु प्रदर्शनमा राखिएका छन् ।

आधुनिकीकरणको नाममा परम्परागत उपकरण तथा भाँडाबर्तन हराउँदै गएर नयाँ पुस्ताले यसबारेमा पुस्तकमा मात्रै पढ्नुपर्ने अवस्थामा ढिकी, जाँतो, ठेकी, मदानी जस्ता कुटानी पिसानीका उपकरण देख्नु मात्र होइन प्रयोग नै गर्न पाउने गरी इतिहासको जगेर्ना गरिएको छ ।

घरबासदेखि सुविधासम्पन्न रिसोर्टहरुले पाहुनालाई उस्तै गरी स्वागत गरिरहेका हुन्छन् । यसले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याइरहेको छ । त्यसैले चित्लाङको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै यसको पर्यटकीय सम्भावनालाई अझ बढी व्यवस्थित रूपमा विकास गर्न त्यहाँ पुग्ने सडकहरुलाई व्यवस्थित गरी मौलिकता संरक्षणका लागि स्थानीयबासीलाई उत्साहित गर्नु पनि उत्तिकै आवश्यक छ ।

आज चित्लाङ पुग्नेहरुको एउटा उद्देश्यमा मौलिकता, संस्कृति, संस्कारको अवलोकन गर्नु पनि भएकाले यसलाई यथास्थान सुरक्षित गर्न सम्पदा संरक्षणको स्पष्ट नीति अख्तियार गर्नु उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.