प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशमाथि १ सय ८५ रनको सानदार जित निकालेको हो ।
जनकपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ले १५० बलको सामना गर्दै २१ चौका र ५ छक्का प्रहार गर्दै अविजित रहँदै १ सय ८९ रनको शतकीय पारी खेले भने भीम सार्कीले ६५ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै तिर्थ राज दासले ३३ रन जोड्दा जितेन्द्र ठकुरीले ३१ रन बनाए ।
कोशीका लागि विपिन महतोले तीन विकेट लिए भने दिपेश कँडेल, रोहण शाह र आशिष मगरको भागमा समान एक-एक विकेट रह्यो । योसंगै विनोद पिएम कपको इतिहासमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यसअघि गत बिहिबार उनले सुदूरपश्चिमविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए ।
विनोद पिएम कपको इतिहासमा पाँच शतक प्रहार गर्ने पनि पहिलो खेलाडी बन्दा चार शतक प्रहार गरेका एपिएफका आसिफ शेख उनलाई पछ्याइरहेका छन् ।
आर्मीले दिएको ३ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १ सय ७७ रनमा अलआउट भयो । कोशीका लागि प्रभात राईले सर्वाधिक ३८ रन बनाए भने शिवासं बजगाईंले ३७ रन जोडे । यस्तै कप्तान सुजन थपलियाले ३० रन जोड्दा आशिश मगर २५ रन बनाए । आर्मीका लागि आकाश चन्दले तीन विकेट लिए भने बसिर अहमदले दुई विकेट लिँदा शाहब आलम, पवन कार्की र नरेन साउदको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै आर्मी अपराजित रहँदै एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ । यता कोशी भने जितविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्