विकासको परिभाषा बदलेको गोकर्णेश्वर- जसको प्राथमिकतामा साहित्य
स्थानीय सरकार भन्नासाथ हाम्रो दिमागमा प्रायः सडक, ढल, पुल र भवन निर्माणका कामहरू नै पहिलो प्राथमिकतामा आउने गर्छन् । तर, भौतिक विकाससँगै समाजको आत्मा—साहित्य र संस्कृतिको जगेर्ना र उन्नयनलाई समान महत्व दिन सकिन्छ भन्ने उदाहरण गोकर्णेश्वर नगरपालिकाले प्रस्तुत गरेको छ ।
हुन त जनताको तत्काल देखिने आवश्यकतालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकासमा केन्द्रित हुनु स्थानीय जनप्रतिनिधिहरूको बाध्यता नै हो र गोकर्णेश्वर नगरपालिकाका मेयरहरू पनि यस यथार्थबाट टाढा छैनन् ।
यद्यपि एक स्वतन्त्र पत्रकार र साहित्यप्रेमीको हैसियतले हेर्दा, यो नगरपालिकाले भौीतक पूर्वाधार र नगरबासीको अपेक्षाहरु पूरा गर्दै नेपाली साहित्यको प्रवद्र्धनमा गरेको योगदान विशेष चर्चा योग्य छ ।
२०७४ सालअघिसम्म स्थानीय तहमा साहित्यप्रति खासै चासो दिइँदैनथ्यो । साहित्यिक गतिविधिहरू प्रायः व्यक्तिगत प्रयासमा सीमित हुन्थे । तर २०७४ को स्थानीय तह निर्वाचनपछि मेयरका रूपमा सन्तोष चालिसे निर्वाचित भएसँगै गोकर्णेश्वरमा साहित्यिक वातावरण बन्न थाल्यो। त्यो शुरुवात मात्र थियो ।
२०७९ सालमा निर्वाचित भएर आएका मेयर दिपक रिसालले त्यसलाई निरन्तरता मात्र दिएनन्, बरु साहित्यिक क्षेत्रलाई प्राथमिकताको अग्रभागमै राखेर कार्यहरू अघि बढाए । आज गोकर्णेश्वर नगरपालिका साहित्यप्रेमीहरूको लागि एउटा उदाहरणीय थलो बनेको छ ।
नगरपालिकाले स्थानीय साहित्यकारहरूको पुस्तक खरिदमा २५ हजार रुपैयाँसम्म सहयोग गर्दै उनीहरूको सिर्जनालाई सम्मान दिएको छ । नयाँ पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यसले नवोदित र स्थापित दुवै साहित्यकारलाई हौसला दिएको छ।
त्यसैगरी, नगरभित्र स्थापित साहित्यिक संघ–संस्थाहरूलाई सञ्चालनका लागि वार्षिक बजेट विनियोजन गरिएको छ । नियमित रूपमा साहित्यिक सम्मेलन, गोष्ठी तथा अन्तरक्रियाहरू आयोजना गरिँदै आएको छ, जसले सिर्जनात्मक वातावरणलाई थप जीवन्त बनाएको छ ।
नगरपालिका स्तरमै साहित्यिक पुरस्कारको स्थापना गर्नुले स्रष्टाहरूको सम्मान मात्र होइन, सिर्जनात्मक प्रतिस्पर्धा र गुणस्तर वृद्धिमा पनि टेवा पुर्याएको छ । अझ, कुनै साहित्यकारको निधन हुँदा नगर प्रहरीमार्फत ब्याण्डबाजासहित राष्ट्रिय झण्डा ओढाएर गरिने सम्मानले स्रष्टाप्रति राज्यको संवेदनशीलता र कदर झल्काउँछ ।
गोकर्णेश्वर नगरपालिकाले गरेको यस्ता कार्यहरूको चर्चा आज नगरसीमाभन्दा बाहिर, देशभरि फैलिएको सुनिन्छ । विभिन्न साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकारहरूले मेयर दिपक रिसालको खुलेर प्रशंसा गर्नु यसैको प्रमाण हो। कतिपय साहित्यकारहरूले त गोकर्णेश्वरमै बसाइँ सर्ने इच्छा व्यक्त गर्नु झन् रोचक पक्ष बनेको छ ।
स्थानीय बासिन्दा र साहित्यप्रेमीहरूको लागि यो निश्चय नै गर्वको विषय हो । गोकर्णेश्वरले देखाएको यो अभ्यासले अन्य स्थानीय तहहरूलाई पनि एउटा स्पष्ट सन्देश दिएको छ—विकास केवल भौतिक संरचनामा सीमित हुँदैन, समाजको आत्मा निर्माण गर्ने साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धन पनि उत्तिकै आवश्यक छ ।
गोकर्णेश्वर नगरपालिका आज केवल एउटा प्रशासनिक इकाई होइन, साहित्यिक चेतनाको उर्वर भूमि बनेको छ—जहाँ शब्दहरूलाई पनि विकासको अंश मानिन्छ ।
यसले देखाएको बाटो केवल एउटा नगरपालिकाको सफल अभ्यास मात्र होइन, समग्र स्थानीय शासनको सोच बदल्ने संकेत पनि हो । विकासलाई केवल इँटा, बालुवा र सिमेन्टमा सीमित नराखी विचार, भावना र सिर्जनशीलतासँग जोड्ने हो भने मात्र समाज दीर्घकालीन रूपमा समृद्ध बन्न सक्छ भन्ने सन्देश गोकर्णेश्वरले दिएको छ ।

आज जब धेरै स्थानीय तहहरू अझै भौतिक पूर्वाधारमै सीमित छन्, गोकर्णेश्वरले भने आत्मिक विकास—साहित्य, कला र संस्कृतिको उन्नयन—लाई पनि समानान्तर रूपमा अघि बढाएको छ । यो अभ्यासले भोलिका पुस्तालाई केवल विकसित सहर होइन, चेतनशील र संवेदनशील समाज हस्तान्तरण गर्ने आधार तयार गरिरहेको छ ।
साहित्यप्रति यस्तो सम्मान र लगानीले स्रष्टाहरूलाई मात्र होइन, सम्पूर्ण समुदायलाई जागृत बनाउँछ । जब एउटा नगरले आफ्ना कवि, लेखक र स्रष्टालाई सम्मान गर्छ, त्यो नगरले आफ्नो इतिहास, पहिचान र भविष्यलाई पनि सम्मान गरिरहेको हुन्छ । सायद यही कारण हो आज गोकर्णेश्वर केवल बसोबास गर्ने ठाउँ मात्र होइन, सिर्जना गर्ने, सोच्ने र अनुभूति बाँड्ने ठाउँ बनेको छ ।
अन्ततः गोकर्णेश्वरले प्रमाणित गरेको छ—समृद्धि केवल देखिने संरचनामा होइन, लेखिने शब्दमा पनि हुन्छ । र जहाँ शब्दहरूको कदर हुन्छ, त्यहाँ समाज सधैं जीवित, सचेत र उज्यालो भविष्यतर्फ उन्मुख रहन्छ ।





प्रतिक्रिया राख्नुहोस्