डाक्टरहरुमाथि प्रहरीको कुटपिट घटनाको छानबिन गर्न समिति गठन
बुधबार राति त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालबाट डिउटी सकेर घर फर्कने क्रममा लकडाउन उल्लंघन गरेको भन्दै कान्ति अस्पतालबाट चक्रपथ झर्ने ओरालोमा प्रहरीले कुटपिट गरेको घटना सार्वजनिक भएपछि छानबिन समिति गठन भएको छ ।
बुधबार रातिको सो घटनापछि नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गर्दै एक विज्ञप्ति प्रकाशित गरेलगत्तै महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य रहेका छन् । महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरलले डाक्टरलाई कुटेको भन्ने कुरा आएपछि तीन सदस्यीय छानविन समिति गठन भएको र प्रतिवेदनपछि कस्तो कारबाही गर्ने भन्ने थाहा हुने बताउनुभएको छ ।
महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्साल सहितका प्रहरी अधिकारीले बुधबार राति ड्युटी सकेर फर्किरहेका शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ । तर डिएसपी उमेश लम्सालले भने घटनालाई सामान्य असमझदारी भएको बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्