राजनीति

कांग्रेसले आवश्यकताअनुसार तालमेल गर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताउनुभयो ।

“संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उहाँले भन्नुभयो ।

उहाँले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पार्नुभयो । महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताउनुभयो ।

उहाँले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने बताउनुभयो । देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी)बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताउनुभयो ।

“एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाउने काम भएको छ, कांग्रेसले कुनै पनि देशको शैन्य रणनीति स्वीकार्दैन”, उहाँले भन्नुभयो । काँग्रेसले विदेशमा बिजुली निर्यात गरेर देशलाई समृद्ध बनाउन खोजेको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै कांग्रेसले बाचा गरेका विषय पूरा गर्ने बताउनुभयो । उहाँले तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिएको बताउँदै आवश्यकताका आधारमा तालमेल हुने उल्लेख गर्नुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताउनुभयो । उहाँले दबाबको आधारमा गठबन्धन नहुने स्पष्ट पार्नुभयो ।

कांग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले विसं २०४६ पछि ठोरीमा कांग्रेसको पक्षमा जनलहर आएको भन्दै यसलाई गुम्न दिन नहुने बताउनुभयो । कार्यक्रममा ठोरी गाउँपालिकाका दुई दर्जनभन्दा बढी युवा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.