जन सरोकार

रोकियो हप्तौंको जोखिमपूर्ण पैदलयात्रा- सहज रुपमा गन्तव्य कोरिँदै

लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरु भारी र पोकापुन्तुराका साथ लामो दूरीको जोखिमपूर्ण र अनिश्चित यात्रामा निस्किएका भेटिन्थे ।

उनीहरुको खाने, बस्नेको ठेगान थिएन । पाए खाने नपाए भोकै जाने निधो गरेर नागरिकले उपत्यका छाड्दै पैदल यात्रा तय गरेका हुन्थ्ये । पूर्वी जिल्लाबाट उपत्यका हुँदै पश्चिम जिल्ला पुग्न हतारिनेहरु पनि भेटिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिँडेका सर्वसाधारणलाई गन्तव्यमा पठाउन, जहाँ रहेका छन्, उनीहरुलाई त्यहीँ व्यवस्थापन गर्न र लकडाउनलाई चुस्त पार्न निर्देशन दिएसँगै यसरी जोखिम मोलेर पैदल हिँड्ने क्रम ठप्प भएको छ । हालै मात्र सर्वोच्च अदालतले पनि त्यस्ता मानिसलाई सुरक्षित गन्तव्यमा पठाउन आदेश जारी गरेको थियो । त्यसलगत्तै सडक मार्गमा हुने मानिसको लस्कर ठप्प हुन पुगेको हो । केही छिटफुट भेटिएकालाई गाडीको व्यवस्थापन गरेर पठाइन थालिएको छ ।

सरकारले गरीब तथा विपन्न मजदूर, जो छाक टार्न सकिरहेका छैनन्, उनीहरुलाई उचित राहतको व्यवस्था गरे पनि पैदलै घर जाने जमात बढेको थियो तर यो क्रम भने अहिले रोकिएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल हिँडेर गन्तव्यमा जान खोज्ने क्रम पूर्णरुपमा निषेध गरिएको बताउनुहुन्छ । बाटोमा पैदलै हिँड्न अवस्था नरहेको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले भन्नुभयो, “सुरक्षा निकायले पूर्णरुपमा हिँड्न रोकेको छ, कुनै असुविधा भए सम्पर्क गर्नुहोस्, प्रहरीले आवश्यक समन्वय गर्नेछ ।”

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन)को आदेश जारी गरेको थियो । यही वैशाख १५ गतेसम्म अझै लकडाउन जारी रहनेछ । लामो लकडाउनका कारण पेशा अपनाउन नसकेका नागरिककका लागि प्रहरी, स्थानीय तह र आम समुदाय खटिएका छन् । बीच बाटोमा पुगेकालाई पनि सम्बन्धित प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको समन्वयमा गन्तव्यतर्फ पठाउन थालिएको छ ।

काठमाडौँबाट पूर्वी जिल्लामा जाने मुख्य नाका काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ श्रवणकुमार तिमिल्सिना भन्नुहुन्छ, “पहिलेको जस्तो मानिसको लर्को छैन, सकेसम्म आउनै नदिन उपत्यकामा समन्वय गरिरहेका छौँ, केही आइपुगिहाले जिल्लामा आवश्यक समन्वय गरी गाडी खोजेर पठाउने गरिएको छ ।” उहाँका अनुसार आएकालाई स्थानीय तहसँग समन्वय गरेर खाना, खाजाको व्यवस्थापन गरिएको छ ।

केही अघिसम्म मध्यक्षेत्र र पश्चिम जाने यात्रुको त्यस्तै लर्को नागढुङ्गा नाकाबाट थियो । तर अहिले उक्त नाकामा समेत पैदल यात्रा रोकिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ नागढुङ्गाबाट पैदल आवतजावत रोकिएको बताउनुहुन्छ । केही आएका मानिसलाई त्रिभुवन पार्कमा राखिएको छ । अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि खटिएका छन् ।

प्रतिनिधिसभा सदस्य अञ्जना विसङ्खे नागढुङ्गामा रहेका नागरिकलाई उचित बसोबासको व्यवस्थापनसँगै गन्तव्यमा पु¥याउन आफैँ खटिनुभएको छ । उहाँले रासससँग भन्नुभयो, “हिजो बेलुकासम्म थोरै मान्छे नागढुङ्गामा थिए, नजीक भएका मान्छे आएर रातारात थपिएको पाइयो, उनीहरुले बसपार्क जस्तै सोचे, त्यसैले उनीहरुको व्यवस्थापनमा जुटेका हौँ ।

आइतबार बिहान २५० जनालाई खाना खुवाइएको छ । “घर जान पाइने आसमा नजीक बसेकाहरु पनि ह्वात्तै आएको पाइयो उनीहरुलाई फर्काएर यही व्यवस्थापन गरिने र जो टाढाबाट आएका छन् उनीहरुलाई गाडीको व्यवस्था गरेर पठाउने तयारी गरिएको छ । यसमा पार्टी प्रतिनिधि नै खटिएको उहाँले बताउनुभयो ।

सांसद विसङ्खेले थप्नुभयो, “म आग्रह गर्न चाहन्छु, स्थानीय सरकार, प्रदेश सरकार र गृह मन्त्रालयलाई यसरी हिँड्न दिनु भएन, उनीहरुलाई जिल्लामा व्यवस्थापन गर्नुपर्नेमा लकडाउनका बेला मानिस कसरी यति टाढाबाट आए, प्रहरी प्रशासनको पनि ध्यान जानुप¥यो ।” उहाँले करीब १०० जनालाई गन्तव्यमा पठाउनुपर्ने देखिएकाले छनोट गर्ने काम जारी रहेको बताउनुभयो ।

विभिन्न जिल्लामा पुगेका र अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुर्‍याउन स्थानीय तह, प्रशासन, प्रहरी र समुदायको सक्रियता जारी छ । सडकमा पुगेकालाई एक चरण गन्तव्यमा पठाइसकेपछि भने सडकमा मानिस देखिने छैनन् । नेपाल प्रहरीले नाकाहरुमा समेत उच्च निगरानी गरेर मानिसलाई आवतजावतमा कडाइ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.