राजनीति

मास्क नलगाए प्रवेश निषेध, विवाह, भोजमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सुरक्षा मापदण्डलाई कडा बनाएको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले ठूला शहरहरुमा वैशाख महिनाभर विद्यालय बन्द गर्ने निर्णयसंगै सार्वजनिक क्षेत्रमा पनि कडाई गरेको छ ।

त्यस्तै सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने बताउँदै मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।

त्यसै गरी सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक तथा सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइने छैन ।

सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने छ ।

त्यस्तै विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने छ ।

मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन ।

सम्बन्धित खबर

Back to top button