सम्पत्ति विवादमा गृहमन्त्री गुरुङ : कांग्रेसद्वारा निष्पक्ष छानबिनको माग
सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि नेपाली कांग्रेसले त्यसको निष्पक्ष छानबिनको माग गरेको छ ।
कांग्रेसले सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको ठहर गर्दै गृहमन्त्री गुरुङको घुमाउरो किसिमले राजीनामा पनि माग गरेको छ ।
सोमबार कांग्रेस प्रवक्ता देवराज चालीसेद्वारा जारी एक विज्ञप्तिमा अनुसन्धानलाई निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्न माग गर्दै मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले स्पष्ट निर्णय गरिसकेको बताएको छ।
यस्तै, नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गर्दै यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने बताएको छ ।





प्रतिक्रिया राख्नुहोस्