पोखरा, वीरगञ्ज र नेपालगञ्जमा दुई महिलासहित एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

बिहिबार वीरगञ्ज, नेपालगञ्ज र पोखरामा दुई महिलासहित एक पुरुषको कोरोना संक्रमणको उपचारकै क्रममा अस्पतालमा निधन भएको छ । समाचार अनुसार नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिनुभयो ।
उहाँले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिगिँ्रदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताउनुभयो ।
यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण जिल्लामा छ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
यसै गरी पोखरा महानगरपालिका–८ का ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा बिहिबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार बिहान करिब २ः१५ बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्