जन सरोकार

बाहिर चामल, भित्र लागुऔषध, दुईजना पक्राउ

खाद्यान्न ढुवानीको नाममा लागू औषध ओसारपसार हुने गरेको पाइएको छ । हालै प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका–११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरु नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौँमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दिपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.