राजनीति

फागुन २८ यताका निर्णय फिर्ता भए एमालेको एकता जोगिने

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी अधयक्ष केपी ओलीबाट फागगुन २८ गतेयता भएका निर्णय फिर्ता लिए पार्टी एकता जोगिने बताउँदै एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उहाँहरुले एमालेको एकता जोगाउन अपिल गर्नुभएको हो । उहाँहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्नुभएको छ ।

आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गर्दै उहाँहरुले अपिलमा भन्नुभएको छ, “फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ ।”

अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने उहाँहरुको माग रहेको छ । “फागुन २८ गते र त्यसपछि भएका बैठकका निर्णय फिर्ता हुनुपर्दछ । यदि त्यसो भयो भने एमालेको एकता जोगिन्छ”, उहाँहरुको अपिलमा भनिएको छ, “एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ ।”

यसरी अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहनुभएको छ ।

यसै गरी नेकपा (एमाले)ले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिनेक्रम शुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

बिहिबार स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केहीले मात्र जवाफ पठाउनुभएको हो । यही वैशाख ६ गते बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लङ्घन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो ।

केहीलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र वैशाख ७ गते ती नेतालाई पठाइएको थियो ।

उहाँहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको थियो ।

यस्तै एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक पनि बस्ने भएको छ । यही वैशाख ६ गतेदेखि शुरु भएको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको कार्यालय सचिव रिजालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button