विश्व आज द्वन्द्व, असहिष्णुता, युद्ध, आर्थिक असमानता र सांस्कृतिक टकरावको गहिरो चपेटामा छ। यस्तो अस्थिर र तनावपूर्ण परिवेशमा मानवता नै संकटमा परेको अनुभूति बढ्दो छ।
विश्वमा मडारिएका युद्ध, जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपत्ति, मानवता र करुणा हराउँदै गएको चुनौतीपूर्ण परिस्थितिबीच २५७० वर्षअघि गौतम बुद्धले दिएका उपदेशहरू फेरि एकपटक अत्यन्त सान्दर्भिक देखिन थालेका छन्।
बुद्धले ‘मध्यम मार्ग’ को अवधारणा प्रस्तुत गर्दै अतिवादबाट टाढा रहन सन्देश दिएका थिए। वर्तमानमा बढ्दो चरमपन्थ, धार्मिक कट्टरता र राजनीतिक ध्रुवीकरणका सन्दर्भमा यो मार्ग अझ अपरिहार्य बनेको छ।
त्यस्तै, करुणा, मैत्री र अहिंसालाई जीवनको आधार मान्ने बुद्धका विचारहरू आजको विश्वका लागि मार्गदर्शक सिद्ध हुन सक्छन्। युद्ध, आतंकवाद र मानवअधिकार उल्लंघनका घटनाले यी मूल्यहरूको अभाव कति गम्भीर छ भन्ने स्पष्ट देखाउँछ। यदि व्यक्ति र राष्ट्रहरूले करुणा र सहिष्णुतालाई व्यवहारमा उतार्ने हो भने धेरै द्वन्द्वहरू स्वतः कम हुन सक्छन्।
बुद्धले आत्मअनुशासन र चेतनशीलतामा पनि विशेष जोड दिएका छन्। तीव्र गतिमा अघि बढिरहेको आधुनिक जीवनशैलीले मानिसलाई मानसिक तनाव, चिन्ता र असन्तोषतर्फ धकेलिरहेको छ। यस्तो अवस्थामा ध्यान र आत्मचिन्तनका अभ्यासहरूले आन्तरिक शान्ति र सन्तुलन कायम गर्न मद्दत पुर्याउन सक्छन्।
यसै गरी, बुद्धले कुनै पनि कुरा अन्धविश्वासका आधारमा होइन, विवेक र अनुभवका आधारमा परीक्षण गर्न आग्रह गरेका थिए। सूचना प्रविधिको युगमा फैलिने भ्रम र गलत सूचनाको बीचमा यो सन्देश झन् प्रासंगिक बनेको छ।
नेपालको सन्दर्भमा हेर्दा, गौतम बुद्ध केवल धार्मिक आस्थाका प्रतीक मात्र नभई राष्ट्रिय पहिचान, सांस्कृतिक गौरव र अन्तर्राष्ट्रिय छविका प्रमुख आधार हुन्। बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहेको तथ्यले देशलाई विश्वमानचित्रमा विशिष्ट स्थान दिलाएको छ।
लुम्बिनीलाई युनेस्को ‘विश्व सम्पदा सूची’मा समावेश गरिएको छ, जसले नेपालको सांस्कृतिक महत्त्वलाई अझ उचो बनाएको छ। हरेक वर्ष हजारौं पर्यटक र श्रद्धालु यहाँ पुग्ने गरेका छन्, जसले पर्यटन विकासमा टेवा पुर्याएको छ।
बुद्धका उपदेशहरू ‘अहिंसा, करुणा, सहिष्णुता र मध्यम मार्ग’ नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा सामाजिक सद्भाव कायम राख्न अत्यन्त आवश्यक छन्। विशेषतः द्वन्द्वपछिको पुनर्निर्माण र मेलमिलापका लागि यी मूल्यहरू अझ सान्दर्भिक छन्।
त्यसै गरी, “बुद्ध जन्मेको देश नेपाल” भन्ने सन्देशले नेपालको अन्तर्राष्ट्रिय पहिचान सुदृढ बनाएको छ। यसले कूटनीतिक सम्बन्ध र सांस्कृतिक आदान–प्रदानमा सकारात्मक प्रभाव पारिरहेको छ।
तर, केवल गौरवमा सीमित रहनु पर्याप्त छैन। लुम्बिनीको संरक्षण र व्यवस्थित विकाससँगै बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो।
औपचारिक कार्यक्रमभन्दा पर, ती मूल्यहरूलाई समाज, शिक्षा र शासन प्रणालीमा आत्मसात् गर्नु नै बुद्धप्रति साँचो सम्मान हुनेछ। बुद्ध नेपालका लागि विगतको गौरव मात्र होइनन्, वर्तमानका मार्गदर्शक र भविष्यका सम्भावनाका स्रोत पनि हुन्।
बुद्धका उपदेशहरु र उनले अवलम्बन गरेका मार्ग पछ्याउँदै देशमा शान्ति, सहिष्णुता स्थिरता, विकास र समृद्धि ल्याउनु हामी सबैको कर्तव्य हो । यही दिशामा अघि बढ्ने प्रेरणा सबैमा मिलोस् ।
आजको विश्वमा देखिने हिंसा, लोभ, घृणा र अहंकार पनि मानव मनकै विकृत अभिव्यक्ति हुन्। बुद्धका शिक्षाको केन्द्रमा दुःखको पहिचान, त्यसका कारण र समाधानको मार्ग निहित छ। यसैले पनि बुद्ध उपदेश कार्यान्वयनमा ल्याउनु विश्वशान्तिका लागि अति आवश्यक भैसकेको छ ।





प्रतिक्रिया राख्नुहोस्