अर्थ

परनिर्भरता बढ्दो : नौ महिनामा ११ खर्बको आयात ९४ अर्बको निर्यात

नेपालको वैदेशिक व्यापारको अवस्था नाजुक छ । चालु आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ९४ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

मुलुकमा उत्पादन नहुँदा परनिभरता बढ्दै गएको छ । यसैको उपज चालु आर्थिक वर्षको ९ महिनामै व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यो २०७६/७७ को पहिलो ९ महिनाको तुलनामा साढे १२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा मुलुकले ९ खर्ब ३ अर्ब घाटा बेहोरेको थियो ।

९ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । यसमध्ये ९४ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ को ९ महिनाको तुलनामा भने निर्यात २०.२३ प्रतिशत बढेको छ । गत वर्षको पहिलो ९ महिनामा ७८ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको थियो । ‘निर्यात बजारमा केही सुधार देखिए पनि पर्याप्त छैन । सरकारले पहिचान गरेका तुलनात्मक वस्तु थप पहिचान गरी क्रमबद्ध विकास गर्दै लैजानुपर्छ,’ ओझाले भने । आयात व्यापार १३.१२ प्रतिशतले बढेको विभागको तथ्यांक छ । २०७६/७७ को ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

कोभिडको दोस्रो लहर चलिरहे पनि पछिल्ला महिना वैदेशिक व्यापार बढ्दै गएको छ । ९ महिनाको अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ भएको थियो । यो गत वर्ष ९ महिनाको तुलनामा १३.६४ प्रतिशत बढी हो । सबैभन्दा बढी बढी डिजेल आयात भएको छ । यस अवधिमा डिजेल ५९ अर्ब ७४ करोड रुपैयाँको आएको छ । गत वर्षको ९ महिनाको तुलनामा भने डिजेल आयात १६ प्रतिशत घटेको छ । आयात भएका वस्तुमध्ये दोस्रो नम्बरमा एमएस बिलेट छ । यो ५० अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । गत वर्षको ९ महिनामा भने एमएस बिलेट ३४ अर्ब ३८ करोडको आएको थियो ।

आयात भएका वस्तुमध्ये भटमासको कच्चा तेल तेस्रो नम्बरमा छ । गत आर्थिक वर्षको ९ महिनामा १२ अर्ब ५२ करोड रुपैयाँको आयात भएको भटमासको कच्चा तेल अहिले ३१ अर्ब ८३ करोड रुपैयाँको भित्रिएको छ । यद्यपि आयातित भटमासको कच्चा तेल व्यवसायीहरूले पुनः प्रशोधन गरेर निर्यात गरिरहेका छन् । यसपछि मोबाइल फोन २९ अर्ब ६४ करोड, एलपी ग्यास २५ अर्ब ४३ करोड र तयारी कपडा २४ अर्ब ३ करोड रुपैयाँको आएको छ । पेट्रोल आयातमा २३ अर्ब ३५ करोड र चामल आयातमा २१ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको ९ महिनामा १६ अर्ब १७ करोड रुपैयाँको चामल आएको थियो । निर्यातमा भटमासको प्रशोधित तेल अगाडि छ । यो २८ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा भने ७ अर्ब ८२ करोड रुपैयाँको यस्तो तेल निर्यात भएको थियो । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्छन् । भटमास तेल सबै निर्यात हुने भएकाले खुद्रा व्यापारमा भने अचाक्ली महँगो छ । निर्यातमा क्रमशः सेन्थेटिक यार्न ५ अर्ब ७४ करोड, अलैंची ५ अर्ब ६८ करोड, ऊनी गलैंचा कार्पेट ५ अर्ब ३८ करोड र तयारी कपडा ४ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ । जुटका बुनिएका कपडा ३ अर्ब २७ करोड, चिया ३ अर्ब ६ करोड र जमोठ कपडा ३ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ ।

आयात–निर्यातको खाडल बढ्नुको मुख्य कारण उत्पादनकै कमी हो । कृषिजन्य वस्तुमा समेत परनिर्भर हुनुपरेको छ । व्यापार घाटा कम गर्न कम्तिमा निर्यातयोग्य वस्तु पहिचान गरी उत्पादन वृद्धि र निर्यात बढाउनु एक मात्र उपाय भए पनि निर्यात बढाउनुपर्छ भन्ने उपदेश दिने बाहेक केही भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.