काठमाडौं महानगरपालिकाले नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउने दोस्रो चरणको अभियान सुरु गरेको छ । शुक्रबार विहान काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने टेकु (वंशीघाट) क्षेत्रका घरहरुमा डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको छ ।
आज शुक्रबार वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसोबास भैआएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउन सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउ लगायतका स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्