जन सरोकार

महेन्द्रनगर, दाङ र नेपालगञ्जमा गरी थप तीनजनाको कोरोनाका कारण मृत्यु

कोरोना भाइरस सङ्क्रमणका कारण शनिबार महेन्द्रनगर, दाङ र नेपालगञ्जमा गरी थप तीनजनाको मृत्यु भएको छ । समाचार अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय युवकको शनिबार मृत्यु भएको हो ।

अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले दिएको जानकारी अनुसार तीन दिनअघि भारतबाट घर फर्किएका ती युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

“तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो”, डा रोकायाले भन्नुभयो, “मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।” अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू शय्या बढाइएको छ ।

त्यसै गरी दाङमा थप एक कोरोना सङ्क्रमितको शनिबार मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१० का ४२ वर्षीया महिलाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना स्रोत व्यक्ति विमल केसीले जानकारी दिनुभयो । शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उता नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ६ गतेदेखि उहाँलाई भेरी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ ।

सम्बन्धित खबर

Back to top button