सुकुमबासी बस्ती खाली गर्न प्रहरीको माइकिङ
प्रहरीले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो । त्यसअघि प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिनुभएको थियो ।
उक्त निर्णय अनुसार बिहीबार साँझदेखि नै माइकिङ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौं स्रोतले बतायो ।
प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकपछि काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि छलफल गर्नुभएको थियो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरिरहेको छ । पहिलो चरणमा थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय गरिएको छ ।
यस्तै जिल्ला सुरक्षा समितिको बैठकले सुकुमवासी बस्ती भोलि साँझ ७ बजेसम्म खाली गर्न निर्णय गरेको र नभए शनिबार डोजर चलाउने जनाएको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र सामान नहटाएर कानुन अनुसार घर, टहरा हटाइने छ ।’





प्रतिक्रिया राख्नुहोस्