सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार नेपालगञ्ज र सुर्खेतमा उपचारका क्रममा पाँचजनाको मृत्यु भएको छ ।
समाचार अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् ।
अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले दिएको जानकारी अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।
भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
यसै गरी नेपालगञ्जस्थित भेरी अस्पताल मा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आउनुभएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा बिहान २ः३० बजे मृत्यु भएको हो ।
यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।