प्रधानमन्त्री र सभामुखद्वारा संसद भवनको अवलोकन- बजेट अधिवेशनबारे छलफल
कोरोना संक्रमणको महामारी फैलिइरहेका बेला नेपालमा संसदको बर्खे (बजेट) अधिवेशनको चटारो सुरु भएको छ । संविधानतः जेठ १५ गते आर्थिक वर्ष २०७७०७८ को वार्षिक बजेट ल्याउनुपर्ने भएकाले यतिबेला संसद भवनमा सामाजिक दूरी कायम रहने गरी तयारी थालिएको छ र प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्नि सापकोटाले अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटा संघीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारी तथा सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लाaगिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिनुभएको हो ।
अवलोकनमा प्रधानमन्त्री, सभामुख अग्निप्रसाद सापकोटा सहित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फे हुनुहुन्थ्यो ।
यसैबीच, प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आगामी सङ्घीय संसद्को बर्खे अधिवेशन आह्वानसँग केन्द्रित रहेर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएका छलफलमा उहाँहरुबीच आगामी अधिवेशन आह्वानलगायत विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
नेपालको संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रपतिबाट यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ ।
नेपाल सरकारका अर्थमन्त्रीले हरेक आवका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट प्रस्तुत गर्नु १५ दिनअघि प्रि–बजेट छलफलका लागि संसद्को बैठक बस्नुपर्ने कानूनी व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।
प्रतिक्रिया राख्नुहोस्