स्वास्थ्य

नियन्त्रण बाहिर जाँदै कोरोना संक्रमण- एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण बाहिर जाँदै गरेको संकेत सक्रिय संक्रमित र मृत्यु भएको संख्याले देखाइरहेको छ । बिहिबार नेपालमा कोरोना संक्रमणकै कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहिबार ३५ जनाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो ।

यसै गरी बिहीवार थप ४ हजार ८ सय ३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सो सङ्क्रमण १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो । विगत २४ घण्टामा ८ सय ८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना, कैलालीमा ३३९ जना, दाङमा १८१ जना, पर्सामा १५० जना, सुर्खेतमा १३६ जना, चितवनमा १३० र कास्कीमा १२२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पाल्पामा ८६, झापामा ६५, कञ्‍चनपुरमा ६३, धनुषामा ६०, मोरङमा ५४, काभ्रेपलाञ्चोकमा ५१, कपिलवस्तु र नवलपरासी पश्‍चिममा ४१/४१, नुवाकोट र डोटीमा ३५/३५ जना, बारा र बैतडीमा ३०/३० जना, नवलपरासी पूर्वमा २७ जना, गुल्मी २६ जना, सिन्धुलीमा २५ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै महोत्तरी र बर्दियामा २४/२४ जना, रौतहट, सर्लाही र सिन्धुपाल्चोकमा २१/२१ जना, रामेछाप र गोरखामा १९/१९ जना, धादिङमा १७ जना, स्याङ्जा र अर्घाखाँचीमा १८/१८ जना, जुम्लामा १४ जना, अछाममा १३ जना, सल्यानमा १२ जना, रसुवा र प्‍युठानमा ११/११ जना, दोलखा, तनहुँ, लमजुङ र बझाङमा ९/९ जना, बागलुङमा ७ जना, ताप्लेजुङ, सप्तरी र डडेल्धुरामा ८/८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दैलेखमा ६ जना, उदयपुर, पर्वत, म्‍याग्दी र रूकुम पश्‍चिममा ५/५ जना, ओखलढुंगा र मकवानपुरमा ४/४ जना, धनकुटा, रूकुम पूर्व, रोल्पा र जाजरकोटमा ३/३ जना, दार्चुलामा २ जना र खोटाङ, भोजपुर, कालीकोट, डोल्पा, हुम्ला र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै बिहीबार ९ वर्षमुनिका ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षमुनिका २९५ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् । सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button