प्रदेशसुदूरपश्चिम

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद् विस्तार

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिनिधित्व गर्नुहुने टीका थापालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यही वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मंगलबार थप एक मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरे पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राख्नुभएको छ ।

नेकपा (एकीकृत समाजावादी) संसदीय दलका नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष पक्षधर प्रदेशसभा सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई प्रदेश प्रमुखले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले) ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्का दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकस देखिएको छ ।

मन्त्रिपरिषद् पूर्णतामा भइरहेको ढिलाइले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायतका विषयको तयारी प्रभावित हुने अनुमान गरिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसमेत १० सदस्यको प्रतिनिधित्व छ ।

बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.