जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

रूकुम पश्चिम, सिरहा, झापा, काठमाडौँ, सिन्धुली, भक्तपुर र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ सिम्रुतु बजारस्थित सडकमा रा.१ ख ३२१७ नम्बरको मिनि ट्रकले रा.६ प ८५५८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसइकल चालक सोही गाउँपालिका-४ खारा बस्ने ४५ वर्षीय जय बहादुर गिरीको घटनास्थलमै मृत्यु भएको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिरहा, धनगढीमाई नगरपालिका-८ स्थित कसाहा चोकमा धनगढीबाट गोलबजारतर्फ जाँदै गरेको प्रदेश ०२-०२२ प ५१७७ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-९ बस्ने २७ वर्षीय सुरेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै झापा, गौरीगंज गाउँपालिका-५ चिल्हरा बालु गाउँको सिमानास्थित सडकमा रतुबा माईबाट चिल्हरातर्फ जाँदै गरेको मे.४ प ४२६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरीगंज गाउँपालिका-५ बस्ने २० वर्षीय बुद्धि लाल मुर्मुको मृत्यु भएको छ । सोमबार साँझ दुर्घटनामा परी गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ ।

यता काठमाडौं महानगरपालिका-४ धुम्बराही चोकमा बा.प्र.०२-०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा.७५ प १६५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

उता सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजारमा दुधौलीबाट खोरभन्ञ्याङतर्फ जाँदै गरेको बा.३८ प ५९५५ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-५ सिर्थौली बस्ने ३५ वर्षीय रोशन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उदयपुरस्थित कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले सोही नगरपालिका-१४ बस्ने २३ वर्षीया रस्मिता सुनुवारलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी रस्मिता दुधौलीस्थित हेम्स हस्पिटलमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।

यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सृजना नगरस्थित सडकमा बाग्मती प्रदेश नम्बर ०१-०३० च.०९९५ नम्बरको कारमा बा. ७३ प २८३६ नम्बरको स्कुटर ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-४ घर भई काठमाडौं माईतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुरठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-३ मालिवारा चोकस्थित सडकमा जलेश्ववरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको आरजे २३ युबि ५८४६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त कारको ठक्करबाट घाइते भएका अर्को साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.