जन सरोकार

कञचनपुर, कैलाली र ताप्लेजुङमा कोरोनाबाट छजनाको मृत्यु

कञ्चनपुर र कैलालीमा गरी थप पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । समाचार अनुसार शुक्रबार राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताउनुभयो । यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।

त्यस्तै कैलालीमा दुई महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

उता ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइने प्रजिअ पाण्डेले बताउनुभयो ।

सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.