कोभिड खोप लगाएलगत्तै मस्तिष्कघात भएका पूर्वसांसद प्रा. पौडेलको निधन
यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएका राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको ७७ वर्षका उमेरमा शनिबार बिहान निधन भएको छ ।

स्व. पौडेलका भतिज रोहित पौडेलले दिनुभएको जानकारी अनुसार शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उहाँलाई पशुपति आर्यघाटमा लगिएको थियो ।
नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो ।
अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । प्राध्यापनपछि उहाँ राष्ट्रियसभाका सदस्य बन्नुभएको हो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्