नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएसंगै उहाँलाई नै मुख्यमन्त्री बनाउने तय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनुभयो ।

पोखरेलले आइतबार दिएको राजीनामा स्वीकृत भएपछि एमाले संसदीय दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको हो । दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए ।
८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आइतबारबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।
तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा)ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाउनुभएको छ ।
एमालेले पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि आइतबार नै उहाँलाई शग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।
प्रदेश प्रमुखले आइतार नै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्