राजनीति

राष्ट्रपति भण्डारीबाट संसदको विशेष अधिवेशन आव्हान

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने हुँदा सोही प्रयोजनका लागि आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १, १ सिट रहेको छ ।

त्यसै गरी नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button