साहित्य

महानन्द पुरस्कार पोखरेल र कुरुपलाई

भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापित महानन्द पुरस्कार यस वर्ष झापाका अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र इलामका साहित्यकार सुन्दर कुरुपलाई दिने निर्णय भएको छ ।

महानन्द पुरस्कार

महानन्द पुरस्कार पुरस्कार समिति, नेपाली साहित्य विकास समिति र महानन्द स्मृति प्रतिष्ठानले सोमबार पुरस्कृत प्रतिभाको नाम सार्वजनिक गरेको हो ।

कनकाई निवासी पोखरेल र चुलाचुली निवासी कुरुपका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् । पोखरेल निवृत्त अध्यापकसमेत हुनुहुन्छ ।

पुरस्कारको नगद राशि रु १५ हजारको रहेको छ भने हरेक दुई वर्षमा यो पुरस्कार वितरण हुँदै आएको छ । यसअघि १४औँ पटक यो पुरस्कार वितरण भइसकेको छ ।

यही वैशाख ३० गते भाषाशास्त्री महानन्द सापकोटाको स्मृति दिवसका अवसरमा इलामको रोङ गाउँपालिकास्थित देवानछापमा एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने महानन्द पुरस्कार समितिका महासचिव चन्द्र भण्डारीले बताउनुभयो ।

यसैगरी, भवानी घिमिरे रङ्गपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल वैद्य र पूर्णटुङ्ग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका कवि प्रेम ओझालाई दिने निर्णय भएको छ ।

दुवै पुरस्कारको नगद राशि जनही रु १५ हजारको रहेको छ । तीनवटै पुरस्कार यस पटक इलामको रोङस्थित महानन्द सापकोटा स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा वितरण गरिने प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडाले बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रम आयोजनास्थल देवानछाप भाषाशास्त्री, साहित्यकार एवं राजनीतिज्ञ महानन्द सापकोटाको जन्मस्थल हो । उक्त स्थानमा महानन्दको प्रतिमा र उहाँको स्मृतिमा पुस्तकालय स्थापना गरिएको छ ।

झापामा २०४३ सालमा महानन्द पुरस्कार समिति गठन गरिएको र त्यसयता विपत्कालबाहेक निरन्तर साहित्यसेवीलाई पुरस्कृत गरिँदै आएको नेपाली साहित्य विकास समितिका अध्यक्ष केशव आचार्यले बताउनुभयो ।

भाषाशास्त्री सापकोटाको जन्मस्थल देवानछापलाई उचित संरक्षण गरी पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रयास भइरहेको महानन्द स्मृति प्रतिष्ठानका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । इलामको रोङ गाउँपालिकाले हरेक वर्ष स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.