नेपालगञ्जमा १५ जना संक्रमित: क्वारेन्टाइनमा मात्र हैन अब टोलटोलमा परीक्षण अपरिहार्य

नेपाल दक्षिण एसियामा कोरोना संक्रमण र नियन्त्रणको दृष्टिकोणले सबभन्दा राम्रो मुलुकका रुपमा रुपमा रहे पनि पछिल्लो समय उदयपुर र नेपालगञ्जमा जसरी कोरोना संक्रमित भेटिए त्यसले परीक्षणको दायरा कम भएको अनुभव गर्न थालिएको छ ।
शनिबार नेपालगञ्ज महानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरिएकोमा तीमध्ये आइतबार दिउँसो नौ जनामा र साँझ ६ जनामा कोरोना पोजेटिभ देखिएयो ।
संक्रमितहरु क्वारेन्टाइनमा बसेका पनि थिएनन् र विदेशबाट आएको पुष्टि पनि भएको छैन । आशंकाकै भरमा टोलटालमै गएर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । यो घटनापछि अब कारोना परीक्षण टोलटोलमै गएर गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
अर्को महत्वपूर्ण कुरा के छ भने कोरोना देखिएकाहरू क्वारेन्टाइनमा थिएनन् उनीहरू आआफ्ना घरमा थिए । उनीहरूमध्ये कोही हालसालै विदेशबाट आएका हुन् कि होइनन् भन्ने पनि खुलेको छैन र उनीहरुको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको थियो ।
यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ दिएको थियो । भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो । उनी स्थानीय मदरसामा पढाउने गर्थे । आइतबार भेटिएका संक्रमितहरू पनि ती पुरूषको सम्पर्कमा आएको हुनसक्ने आशंका गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एकजनामा कोरोना देखिएपछि उनका परिवारका सदस्य तथा घर, टोलमा परीक्षणलाई व्यापक गरेको बताउँदै यसअघि संक्रमित देखिएकाकै परिवार तथा आफन्तमा आइतबार थप कोरोना देखिएको जानकारी दिनुभएको छ ।
प्रजिअ खड्काले संक्रमितहरू क्वारेन्टाइनमा नरहेको र समुदायमा रहेकोले थप अरूमा पनि कोरोना देखिनसक्ने भएकोले परीक्षणको दायरालाई वृद्धि गरिएको उनले जानकारी दिनुभएको छ ।
उदयपुरमा एउटै मस्जिदमा २४ जनाभन्दा बढीमा कोरोना संक्रमण भएको पुुष्टि भएपछि बढेको त्रास नेपालगञ्जको घटनाले अरु थपिदिएको छ । अब क्वारेन्टाइनमा बसेकाहरुको मात्र नभएर शंकास्पद क्षेत्रमा पूरै टोलटोलमा पुगेर परीक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
त्रिसट्ठी हजारको स्वास्थ्य परीक्षण
सरकारले ६३ हजारभन्दा बढी सम्भावित कोभिड–१९ का सङ्क्रमितको स्वास्थ्य परीक्षण गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार ४९९, प्रदेश नं २ मा पाँच हजार ७०९, वाग्मती प्रदेशमा आठ हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ८३४, प्रदेश नं ५ मा चार हजार ४९२, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ७३ गरी ७७ शङ्कास्पद व्यक्तिलाई आइसोलेशनमा राखेर निगरानी भइरहेको छ ।
आज मुलुकभर २१ हजार ९५१ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० हजार ६६७ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ६१८, प्रदेश नं २ मा एक हजार ३३७, वाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, कर्णाली प्रदेशमा तीन हजार ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयले कल सेन्टरमा एक हजार ११९ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार ९८४ पुगेको छ । हाल ३२१ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ । कोभिड नियन्त्रणमा सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्रालयले आगामी दिनमा पनि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।