जन सरोकार

नेपालगञ्ज तीन दिनका लागि निषेधित क्षेत्र घोषित

१६ जना कोरोना संक्रमितत भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ ।

बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी

कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.