जन सरोकार

कोरोनाको दुष्प्रभाव– विकराल बन्दै मानसिक समस्या

कैलालीको टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमान्को कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए । तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण हवाई सेवा बन्द भएपछि फर्किन पाएनन् ।

आफ्ना ४१ वर्षीय श्रीमानसंग अनिताको अघिल्लो वैशाखको अन्त्यमा फोनमा कुराकानी भएको थियो । दुई दिनअघि टाउको दुखेको छ भनी फोन गरेका उनीसँग दुई दिनपछि फोन गर्दा उठेन । उनले फोन उठाउन छोडेपछि घर परिवारमा चिन्ता छायो ।



अनिताकी छोरीले उनीसँगै दुबईमा काम गर्ने साथीलाई फोन गरिन् । उनले कोरोना भाइरस सङ्क्रमण भएकाले अस्पताल लैजान लागेको खबर दिए । त्यसपछि १० दिनसम्म न दुबईबाट फोन आयो, न कसैसँग सम्पर्क भयो । यता परिवारमा पीडा थपियो । ११ दिनपछि गत वर्ष जेठ ६ गते उनले काम गर्ने कम्पनीका मालिकले फोनमै अनितालाई कोरोना सङ्क्रमणका कारण मृत्यु भएको खबर सुनाए ।

घर आउने तयारीमा रहेका श्रीमान्को मृत्युको खबर अनितालाई असह्य भयो । उनी मुर्छित भइन् । छिमेकीले पनि अनिताले फोनमै रोइकराइ गरेको सुने । कोरानाका कारण उनको मृत्यु भएको खबर गाउँमा फैलियो । उनको परिवारमा मात्रै नभएर गाउँभरि शोक छायो ।

अनिताका दुई छोरी र एक छोरा छन् । जेठी छोरीको उमेर २१ वर्ष पुगेको छ भने कान्छी छोरी १८ वर्षकी भइन् । छोराछोरीहरुले बुबाका साथी र कम्पनीका मालिकलाई बुबाको शवको भिडियो वा फोटो देखाइदिन धेरै अनुरोध गरे, तर हेर्न पाएनन् ।

दुबईमा उनको मृत्यु भएको १६ दिनपछि त्यहाँको सरकारले नै उनको अन्त्येष्टि ग¥यो । यता घरमा उनको काजक्रिया भयो । उनी विदेश जाँदा रु पाँच लाख ऋण लिएका थिए । उनको दुबईमा खासै कमाई पनि थिएन । “दुई÷तीन महिनामा कहिले रु ४० हजार त कहिले रु ५० हजार पठाउँथे । त्यो रकम घरखर्चमै सकिन्थ्यो । श्रीमान्ले पठाएको रकम बचाएर अनिताले रु दुई लाख ५० हजार ऋण तिरिसकेकी थिइन् । रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी नै थियो ।

अनिताले सुस्केरा हाल्दै भनिन्, “तीन छोराछोरी छन् । घरको सम्पत्ति केही छैन । कमाउने आधार छैन । रोजगारीमा गएका श्रीमान् अर्काको देशमा बिते । मैले केही सोच्न सकिनँ । हामीले आत्महत्या गर्ने योजना बनायौँ ।”

“म तीन महिनासम्म कहिल्यै पनि राम्ररी सुत्न सकिनँ । खाना खान मन लागेन । अरूसँग बोल्न पनि मन लागेन । सधैँ टोलाई मात्रै रहेँ”, उनले भनिन्, “त्यस समयमा त मैले मृत्यु मात्र विकल्प देखेँ, बाच्ने अरू कुनै आधार नै देखिन ।”

अनिताको मानसिक अवस्था बिग्रन थालेको चाल पाएपछि छिमेकीले कैलालीको लम्की घर भएका मनोसामाजिक परामर्शकर्ता धनराज विकलाई खबर गरे । धनराज हतार हतारमा अनिताको घर पुगे । उनले मनोसामाजिक परामर्श शुरु गरे । बल्ल केही दिनपछि अनिताको अवस्था सामान्य बन्यो ।

मनोसामाजिक परामर्शकर्ता धनराजले १० दिनसम्म लगातार अनिता र उनका छोराछोरीलाई परामर्श सेवा दिए । बिस्तारै अनिता शान्त भइन् । धनराजको सल्लाहमा उनले श्रीमान्को बीमा रकम दाबी गरिन् । बीमाबाट रु १० लाख प्राप्त भयो । “बीमाको रकम पाएपछि श्रीमान्ले दुबई जाँदा लिएको ऋण तिरेँ । बचेको रकमले सानो घर बनाउन थालेकी छुँ”, उनले भनिन्, “समस्या त अहिले पनि छ । पढिरहेका दुई छोरी पढाइ छोडेर भारत कमाउन गएका छन् । मैले जन्मेपछि मृत्यु हुन्छ भन्ने नै बुझेँ । अब बाँच्छु । छोराछोरीको सहारा बन्छु ।”

अनिताकी कान्छी छोरी एसइई उत्तीर्ण भएकी छिन् । उनी कृषि विज्ञान विषय पढ्ने योजनामा थिइन् तर घरको आर्थिक अवस्था कमजोर भएकाले उनी पढाइ छोडेर कमाउनका लागि भारत गएकी छिन् । उनको पढ्ने सपना बुबाको मृत्युसँगै निम्तिएको गरिबीले तुहाएको छ ।

टीकापुरकै ४३ वर्षीय कविताको कथाव्यथा पनि उस्तै छ । उनका श्रीमान् शेरबहादुर शाही पाँच वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । विश्वभर कोरोना महामारी फैलियो । कोरोना महामारीकै बीच उनले गत वर्ष मलेसियामै आत्महत्या गरे ।

शेरबहादुर मलेसिया गएको पाँच वर्ष भएको थियो । उनी मलेसिया गएको तीन वर्षपछि एकपटक घर आएका थिए । फेरि मलेसिया गएका उनले दुई वर्ष उतै बिताएर सधैँका लागि घर फर्कने योजनामा थिए । गत वर्ष साउनमा उनले आत्महत्या गरेको खबर आयो । कविताका चार छोराछोरी सन्तान छन् । गत वर्ष साउन १६ गते साँझ घरमा श्रीमती र छोराछोरीसँग कुराकानी गरेका उनी त्यसपछि सम्पर्कविहीन भए । कविताको जीवनको त्यो अति कठिन दिन थियो । १७ गते बिहानै उनको मृत्युको खबर आयो । “अघिल्लो वर्ष कोरोना महामारीका कारण उहाँको खासै काम चलेको थिएन । सातामा दुई दिन सामान्य खर्चका लागि काम दिएको छ भन्नुहुन्थ्यो । हवाई सेवा खुलेपछि घर फर्किन्छु भन्नुभएको थियो”, आँसु झार्दै श्रीमती कविताले भनिन्, “एक्कासि उहाँको मृत्युको खबर आयो । तेह्र दिनपछि बाकसमा उहाँको शव फर्कियो ।”

शेरबहादुरको मृत्युपछि कविताको परिवारमा बिचल्लीमा प¥यो । श्रीमती कविताको सानो कस्मेटिक पसल थियो । श्रीमान् बितेको तीन महिनासम्म निकै तनाव भएको उनले बताइन् । “उहाँको मृत्युपछि मैले संसार देख्न छोडे जस्तै अनुभव भयो । मेरो जीवन नै समाप्त भएको अनुभव गर्न थाले । राति निद्रा लाग्न छोड्यो”, कविता सुनाउँछिन् ।

श्रीमानको मृत्युले अति विचलित भएकी कवितामा डिप्रेशनको समस्या बल्झिन थाल्यो । छरछिमेकले उनको अवस्था देखेर मनोसामाजिक परामर्शकर्तालाई गुहारे । मनोसामाजिक परामर्शकर्ताको लगातारको ‘काउन्सिलिङ’ र उपचारपछि बिस्तारै उनको अवस्थामा सुधार आउन थाल्यो । “अहिले केही सामान्य भएकी छु”, उनले भनिन् ।

शेरबहादुर रोजगारीका लागि मलेसिया जाने क्रममा ऋण लिएका थिए । कविताले बीमा दाबी गरिन् । बीमाबापत रु १४ लाख पाइन् । अघिल्लो वर्षदेखि विश्वभरि फैलिएको कोरोना महामारीका कारण मानव जाति नै सन्त्रासमा परेको छ । नेपालमा पनि कोरोना महामारीका कारण हरेक क्षेत्र अस्तव्यस्त बनेको छ । अझ रोजगारीका लागि भारत तथा अन्य मुलुक गएका नेपालीको अवस्था झन् दयनीय बनेको छ । वैदेशिक रोजगारीमा रहेकाहरु आफ्नो तथा घरपरिवारको चिन्ताले पिरोलिएका छन् । घरमा भएका श्रीमती, आमाबुबा, छोराछोरीसहित परिवारजन दोहोरो चिन्तामा छन् । कोरोना महामारीको त्रासले घर रोजगारी गुमाएर वा छोडेर घर फर्किएकाहरुमध्ये अधिकांश बेरोजगार छन् । कतिपय घरपरिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले मानसिक रुपमै कमजोर बन्दै गएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका मनोज विक भारतमा रोजगारी गर्दथे । भारतमा कोरोना महामारी तीव्र बन्दै गयो । सरकारले लकडाउन ग¥यो । लकडाउनका कारण रोजगारी गुमेपछि मनोज घर फर्किए ।

घर फर्किएको लामो समयसम्म बेरोजगार बस्नुपर्दा उनमा मानसिक समस्या बल्झिन थाल्यो । केही दिनअघि उनको घरमा पुग्दा उनी टोलाएर बसेका थिए । केही बेरसम्म उनले कुरा गर्न चाहेनन् । पछि विस्तारै भने, “मेरो सात जनाको परिवार छ । घरपरिवारको लालनपालनको जिम्मेवारी मेरै काँधमा छ । म ऋणमा चुर्लुम्म डुबेको छु । परिवार कसरी पाल्ने होला ?”
उनका परिवारका एक सदस्यका अनुसार भारतबाट फर्किएको केही महिनापछि मनोज घन्टाँैसम्म एक्लै टोलाउन थाले । उनी आफैँसँग कुरा गर्दथे । परिवारका सदस्यहरुसँग झर्किन्थे । रातभरि सुत्दैनथे ।

मनोजलाई डाक्टरकहाँ लगियो । डाक्टरले तीन महिनाका लागि औषधि दिएका छन् । मनोजले भने, “डाक्टरले तीन महिनासम्म औषधि खानु, शान्त रहनु र आराम गर्नु भन्नुभएको छ तर परिवार कसरी पाल्ने भन्ने चिन्ताले छोड्दैन ।”

कैलालीकै लम्कीचुहा नगरपालिकाका ४५ वर्षीय बलराम न्यौपाने रोजगारीका लागि भारतको सुरतमा गएका थिए । कोराना महामारी फैलिएपछि उनी ज्यान जोगाउन रोजगारी छोडेर घर फर्किए । घर त फर्किए, तर रोजगारी छैन । आम्दानीको केही बाटो छैन । घरपरिवार कसरी पाल्ने भन्ने दिनरातको चिन्ताले उनी तनावमा रहन थाले । उनी भन्छन्, “घरमा आम्दानीको कुनै स्रोत छैन । छिमेकसँग ऋण सापटका लागि गुहारेँ, कसैले पनि पत्याएनन् । परिवार पाल्नै कठिन भयो ।”

सधैँ तनावमा रहन थालेपछि उनी बिरामी परे । परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लगे । डाक्टरले निद्रा लाग्ने औषधि दिए । बलराम भन्छन्, “गाउँमा कुनै रोजगारी पाइएन । खान लाउनको समस्या भएपछि म चिन्ताले थला परेँ । निकै बिरामी छु । डाक्टरको सल्लाहमा निद्रा लाग्ने औषधि सेवन गरिरहेको छु ।”

यस्तै, अवस्था टीकापुर नगरपालिकाका मानसिंह परियारको पनि छ । उनका दुई छोरा रोजगारीका लागि खाडी मुलुकमा छन् । कोरोना महामारी फैलिएर लकडाउन भएपछि मानसिंह तनावमा परे । उनले पनि लकडाउन भएपछि पाँच महिनासम्म राम्ररी सुत्न पनि नसकेको बताउँछन् । वैदेशिक रोजगारीमा रहेका दुवै छोराको कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमेपछि भोक न निद्रा भएको उनको अनुभव छ ।

छोराहरु विदेशमा अलपत्र झैँ परेपछि मानसिंहले ऋण सापट गरेर रकम पठाएर एउटा छोरा र बुहारीलाई घर फर्काए । अर्को छोरा अहिले पनि विदेशमै छन् । उनी रोजगारमै छन् तर कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि मानसिंहलाई छोराको चिन्ताले निकै पिरोलेको छ । विदेशमा रहेका छोराको चिन्ताले उनमा मानसिक समस्या देखिन थालेको छ । उनी आजभोलि बरबराउने, खाना नखाने, नसुत्ने समस्यामा परेका छन् ।

उनी भन्छन्, “मलाई अघिल्लो वर्ष चैतदेखि नै छोराहरुको चिन्ताले समस्या भइरहेको थियो । अहिले पाँच महिनादेखि निद्रा लाग्न छोडेको छ । खाना खान मन लाग्दैन । अरूसँग कुरा गर्न झर्को लाग्छ । रिस उठ्छ ।” समस्या बढेपछि उनी डाक्टर कहाँ गए । उनले भने, “डाक्टरको सल्लाहअनुसार तीन महिनासम्म औषधि सेवन गरेँ । अहिले अलिकति सहज भएको छ ।”

विश्वभर कोरोना महामारी फैलियो । नेपालमा पनि कोरोना फैलिएपछि गत वर्ष चैतदेखि लकडाउन भयो । करीब आठ महिनासम्म सबै क्षेत्र बन्द रह्यो । लकडाउनपछि आर्थिक, सामाजिक, पर्यटन सबै क्षेत्र अस्तव्यस्त बन्यो । यससँगै भारत तथा अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरुको कमाईबाट घरखर्च चलाउने परिवारका सदस्यहरु समस्यामा परेका छन् । कतिपयमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

केही समय कोरोना महामारी स्थिर रहेकामा अहिले फेरि कोरोना सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएको छ । पछिल्ला केही सातायता नेपालमा कोरोनाको दोस्रो भेरियन्टका कारण हाहाकार अवस्था छ । कैलाली, कञ्चनपुरसहित नेपालका दुई दर्जनभन्दा बढी जिल्लामा पूर्णरुपमा लकडाउन शुरु गरिएको छ भने केही जिल्लामा आंशिक रुपमा लकडाउन गरिएको छ ।

भारतसहित अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारजनमा मानसिक समस्या देखिन थालेपछि कैलालीमा केही मनोपरामर्शकर्ताहरुले उनीहरुलाई मनोपरामर्श सेवा दिने गरेका छन् । कैलालीमा एक संस्थामा कार्यरत लक्ष्मी चौधरीले भनिन्, “हामीले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारका सदस्यहरु ८६ जनालाई मनोपरामर्श सेवा दिएका छौँ । मनोपरामर्शकर्ताहरुले मनोसामाजिक समस्यामा रहेकाहरुलाई परामर्श दिने, उपचारका लागि सहयोग गर्ने गरेका छौँ ।”

चिकित्सकहरु मानसिक समस्यामा रहेकाहरुको समयमै व्यवस्थापन गर्न नसके भविष्यमा झन् जोखिम बढ्ने बताउँछन् । चिकित्सकहरु भन्छन्, “मानसिक समस्या समयमै व्यवस्थापन गरिएन भने मानिसमा पागलपनको समस्या हुनसक्छ । आत्महत्या पनि यसकै एउटा कारण हो ।”

बाँकेको कोहलपुर मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डाक्टर मोहन बेल्वासेले कोरोना महामारी बढेपछि समाजमा मनोसामाजिक समस्या पनि बढेको बताउँछन् । डाक्टर बेल्वासे भन्छन्, “मानसिक समस्यामा रहेका व्यक्तिहरुको समयमै उपचार गरिएन भने पछि झन् जटिलता आउन सक्छ ।”

उनको अनुभवमा अघिल्लो वर्षदेखि कोरोना महामारी फैलिएपछि मानसिक रुपमा अस्वस्थ व्यक्तिहरु दोब्बर बढेका छन् । उनले भने, “कोरोना महामारी अघि मैले दैनिक ३० को हाराहारीमा मानसिक रुपमा अस्वस्थ बिरामीको जाँच गर्दथे, कोरोना महामारी फैलिएपछि अहिले दैनिक ६० देखि ८० जनासम्म बिरामी हेर्ने गरेको छु ।”

कोहलपुर मेडिकल कलेजमा बाहिरबाट रेफर गरिएका बिरामी बढी आउने गरेका छन् । उनले भने, “बढिजसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अस्पतालबाट रेफर गरेर आएका बिरामी आउने गरेका छन् ।”

डाक्टर बेल्वासेका अनुसार अहिले उपचारमा आउने मानसिक रुपमा अस्वस्थ अधिकांश बिरामीमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएका, आर्थिक सङ्कटमा परेका, बेरोजगार भएर सबैजना घरमै बस्दा अशान्ति बढेको आदि कारणले मानसिक समस्यामा वृद्धि भइरहेको छ ।

चिकित्सकहरुका अनुसार मनोसमस्या शुरुको अवस्था हो । मनका थरिथरिका विचार खेल्नु, मन सम्हाल्न नसक्नु, जीवनमा सामान्य परिवर्तन आउनु, अप्ठ्यारो महसुस हुनु मनोसमस्याका प्रारम्भिक लक्षण हुन् । यस्ता समस्या समयमै व्यवस्थापन भएनन् भने व्यक्तिलाई मानसिक रोगी बनाउँछ ।

डाक्टर बेल्वासे भन्छन्, “मान्छेको मन नै सबैभन्दा ठूलो कुरा हो । यही मनले अपराध गर्छ । मनले नै माया र सद्भाव बाँड्छ । त्यसैले मनमा गलत विचार र गलत सोच आउन दिनु हुँदैन”, उनको सुझाव छ, “तनाव र समस्यालाई सामान्य रुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार र समाजको साथ चाहिन्छ । त्यस्तै, मानसिक समस्याको प्रारम्भिक लक्षण देखिनासाथ रोगीलाई उपचार सेवामा ल्याउनु पर्दछ ।”

कोरोना महामारीका कारण भारत तथा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा परिवारमा मानसिक समस्यामा वृद्धि भइरहे पनि कुनै पनि तहका सरकारहरुले यसलाई गम्भीर रुपमा लिएको पाइँदैन । स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्था, अस्पतालहरुमा मनोचिकित्सकको व्यवस्था गर्न अहिलेसम्म स्थानीय सरकारहरुको ध्यान गएको देखिँदैन । स्थानीय सरकारहरुले मानसिक रोगलाई स्वास्थ्य समस्याका रुपमा नै लिएको पाइँदैन ।

कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल स्थानीय सरकारले मानसिक समस्यालाई स्वास्थ्य समस्याका रुपमा नबुझेका कारण नै समस्या भइरहेको बताउँछन् । “मानसिक समस्या पनि मानव स्वास्थ्य समस्याको जटिल अवस्था हो । यसले परिवार मात्र नभएर समाजलाई नै असर पार्छ, तर हामीकहाँ नीतिगत रुपमा कुनै काम भएको छैन”, जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक रावलले भने, “हरेक स्थानीय तहमा मनोचिकित्सक वा स्वास्थ्यकर्मीलाई मनोसामाजिक तालीम दिएर सेवामा खटाउन आवश्यक भइसकेको छ ।”

कोरोना महामारी फैलिएर लकडाउन भएपछि कैलालीको धनगढी त्रिनगर नाकाबाट मात्रै एक वर्षको अवधिमा एक लाख ८० हजार ९२१ नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । कैलाली जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार भारतका विभिन्न स्थानबाट कैलाली फर्किने नेपालीहरुको सङ्ख्या ५८ हजार २१८ रहेको छ ।

गत वर्ष लकडाउन खुकुलो भएपछि कैलालीको त्रिनगर तथा अन्य नाकाबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका एक लाख ७४ हजार ८५ जना सुदूरपश्चिमेलीहरु पुनः भारत फर्किएका थिए ।

कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि भारतका विभिन्न राज्य वा शहरमा रहेका नेपालीहरु पुनः स्वदेश फर्किन थालेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कैलाली जिल्लाको जनसङ्ख्या ७ लाख ७० हजार २७९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button