भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको हो ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । दिल्लीका लागि समिर रिज्भीले २४ बलमा ४ चौकाको सहयोगमा अविजित रहँदै ४० रन बनाए भने ट्रिस्टन स्टब्सले ३१ बलमा ३८ रन जोडे ।
त्यस्तै पथुम निशंकाले १९ रन जोड्दा नितिश राणाले १५, आशुतोष शर्माले १४, केएल राहुलले १२ र करुण नायरले १३ रन बनाए । चेन्नईका लागि नुर अहमदले दुई विकेट लिए भने अकिल हुसेन, मुकेश चौधरी, गुर्जपनित सिंह र जेमी ओभर्टनको भागमा समान एक-एक विकेट रह्यो । दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको लागि ओपनर सञ्जु स्यामसनले ५२ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहँदै ८७ रनको अर्धशतकीय पारी खेले भने कार्तिक शर्माले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रनमा नटआउट रहे । यी दुइले तेस्रो विकेटका लागि अविजित रहँदै १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए ।
यस्तै उर्विल पटेलले १७ रन जोड्दा कप्तान रितुराज गायकवाडले ६ रन बनाए । दिल्लीका लागि अक्षर पटेल र लुंगि एन्गेडिले समान एक-एक विकेट लिए । जितसँगै चेन्नई १० खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा आठ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे सनराइजर्स हैदराबाद र पन्जाब किंग्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्