पत्रकार दाहालको कोरोना संक्रमणबाट निधन
सुरक्षाका उपाय अवलम्बन गरेर पेशागत कर्ममा जुट्न महासङ्घको आग्रह
कोरोना भाइरस संक्रमणको दोस्रो लहरले महामारीको रुप लिइरहेका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरु उच्च जोखिममा परेका छन् । यसै क्रममा पत्रकार दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण शनिबार निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दाहाल यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रदाहालशहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत ४० वर्षको अल्पायुमै कोरोनाका कारण उहाँको निधन भएको खबरले स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
महासङ्घले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको यस घडीमा महासङ्घ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ । कोरोनाकै कारण हालसम्म आठ पत्रकारको निधन भएको जानकारी दिँदै महासङ्घले हालसम्म ६५० पत्रकार सङ्क्रमित भएको तथ्याङ्क दिएको छ ।
पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको छ । कोरोना सङ्क्रमण चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासङ्घले सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्