अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने चौधरी पक्राउ
वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीले पीडित चार जनाबाट पटक पटक गरी सो रकम लिएर सम्पर्कविहीन भएका थिए।
बेरोजगार युवायुवतीलाई अमेरिका पठाउन ब्राजिलको टेक्सटाइल कम्पनीमा वर्किङ भिसामा काम गर्नुपर्ने भनी श्रम स्वीकृत समेत निकाली फिलिपिन्स हुँदै लगेका थिए ।
अवैध किसिमले अमेरिका जान लागेकका उनीहरूलाई फिलिपिन्सको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको थियो।
पीडितमध्ये महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पीडित नेपाल फर्केपछि पुनः दिल्लीको महिलापुरस्थित होटल सप्तगिरीमा दुई महिना राखेको साथै सोही समूहले भारतको दिल्ली पुर्याइ सात दिन बाहिर निस्कन नदिई बन्धक बनाएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
चौधरीलाई ललितपुर महानगरपालिका ७ झम्सिखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्