राजनीति

गणतन्त्र पछि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

“गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । सामाजिक बनावट, भोगाइका कारण नै पनि महिलाहरूलाई समस्या छ । यति हुँदाहुँदै पनि राज्यका सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । यो सकरात्मक पक्ष हो”, सञ्चारमन्त्री शर्माले भन्नुभयो, “महिलाहरू तथा पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन केही सहुलियत दिनुपर्छ । पुरुषको तुलनामा महिलाहरू पछि परेकै छन्, पत्रकारितामा आउने महिलालाई पेसामा टिकाउने र नेतृत्व विकास गर्नेमा ध्यान दिऔँ । पेसामा टिकिराख्न र प्रतिस्पर्धामा आउन महिलाहरूलाई समस्या छ । यी समस्या हल गर्न ध्यान दिऔँ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले चार महिना लगाएर अध्ययन गरेर तथ्यका आधारमा छलफल चलाउने प्रयास गरेकामा म्यागलाई धन्यवाद दिँदै भोगाइका आधारमा गरिने अध्ययन पनि यथार्थतामा आधारित हुने बताउनुभयो । उहाँले छिटोभन्दा छिटो आमसञ्चार ऐन ल्याउन सकियो भने सबैका लागि महत्वपूर्ण काम हुने बताउनुहँदै मिडिया क्षेत्रको सहयोगले सरकारलाई सहयोग पुग्ने धारणा राख्नुभयो । मन्त्री शर्माले पछिल्लो समयमा नकारात्मक प्रवृत्ति र पात्रलाई स्थापित गर्ने हाबी भएको भन्दै राजनीतिभन्दा पनि पत्रकारिता क्षेत्र धेरै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिआर थम्सनले पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्ने बताउनुभयो । “यस्ता अध्ययन प्रतिवेदनमा कसरी अध्ययन गरिएको छ र अध्ययनका क्रममा कस्ता प्रक्रिया अपनाइएका छन् भन्ने कुराहरू महत्वपूर्ण हुन्छन् । पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्छ । यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रयास रहन्छ”, राजदूत थम्सनले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अध्ययन प्रतिवेदनले पत्रकार महिलाको विगत संलग्नताको पृष्ठभूमि ल्याएको बताउनुभयो । उहाँले रिपोर्टमा आएका कुराहरूलाई सन्तोष मान्दै आवश्यक सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सत्य कुरा स्थापित हुँदा मिडिया प्रभावकारी हुने र सत्य कुरा स्थापित गर्दै मिडियाको विश्वसनीयता कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक समावेशी र प्रभावकारी हुँदा सरकारले सुशासन कायम गर्न सक्ने बताउनुभयो ।

नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षितले मिडिया मात्रै हैन राज्यका सबै क्षेत्रमा लैङ्गिक असन्तुलन रहेको बताउनुभयो । उहाँले विदेशी मामिला रिपोर्टिङ भूराजनीतिक रिपोर्टिङ मात्रै नभएको बताउँदै महिलाहरुको सहभागिता बढ्दा पेसाप्रति राम्रो सन्देश जाने बताउनुभयो ।

अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण गर्नुहुँदै म्यागकी कार्यकारी निर्देशक बबिता बस्नेतले आठ सयजना पत्रकार महिलाहरूमध्ये पाँच सयजना सहभागी महिलाहरूले राखेको धारणाका आधारमा २३ दशमलव ९ प्रतिशत सामाजिक बिटमा, १९ दशमलव ५ प्रतिशत लैङ्गिक तथा महिला, १३ प्रतिशत ३ प्रतिशत राजनीति र ६ दशमलव ६ प्रतिशत महिलाहरू परराष्ट्र मामिला क्षेत्रमा रिपोर्टिङमा क्रियाशील रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले लैङ्गिक उत्तरदायी कानुन बनाउनका लागि जोड दिन राज्य पक्षलाई घच्घच्याउन आफूहरू क्रियाशील रहने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.