होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल ट्याङ्करलाई निशाना बनाई ‘निष्क्रिय’ पारेको जनाएको छ। यस घटनापछि मध्यपूर्वमा तनाव झनै बढेको छ ।
अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली हानाहानपछि उक्त ट्याङ्करहरूलाई नियन्त्रण बाहिर जान नदिन कारबाही गरिएको हो । अमेरिकी सैन्य कारबाहीले ती जहाजहरूलाई सञ्चालनयोग्य नहुने अवस्थामा पु¥याएको बताइएको छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्सले पनि आफ्नो क्षेत्रमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् ।
अमेरिकी रक्षा निकायले भने होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि सम्भावित आक्रमण प्रयास रोकिएको र त्यसको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरिएको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नागरिक वा जहाजलाई धम्की दिए कडा जवाफ दिइने चेतावनी दिनुभयो । उहाँले वार्ताका लागि इरानबाट ‘गम्भीर प्रस्ताव’ अपेक्षा गरिएको पनि बताउनुभएको छ ।
यसैबीच, इरानले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लङ्घन भएको भन्दै कडा विरोध जनाएको छ । इरानी विदेश मन्त्रालयले अमेरिकाले कूटनीतिक समाधानको सट्टा सैन्य विकल्प रोजेको आरोप लगाएको छ ।
होर्मुज जलसन्धि विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । यस क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्दै आएको छ, जसका कारण तेल मूल्यमा वृद्धि र विश्व बजारमा अनिश्चितता देखिएको छ ।
हाल दुवै पक्षबीच तनावपूर्ण अवस्था कायम रहेको छ र युद्धविरामलाई कायम राख्ने प्रयासहरू भइरहेका भए पनि स्थिति संवेदनशील रहेको बताइएको छ ।





प्रतिक्रिया राख्नुहोस्