राजनीति

लिपुलेकमा सडक बनाइरहेको कुरा थाहा थियो भने के हेरेर बसिराखेको ?

लिपुलेकमा भारतले बनाएको सडकका बारेमा सरकारलाई विपक्ष सांसदहरुले चर्को आलोचना गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सनु २०१२ देखि भारतले त्यहाँ सडक बनाइरहेको थाहा भएको र अहिले १९ किलोमिटर नेपाली भूमि मिचेर सडक तयार भएको बताएपछि संसदमा यसको चर्को बिरोध भएको छ ।

बैठकमा सीमा सुरक्षामा सरकारले समयमै अपनाउनुपर्ने तदारुकता नदेखाएको भन्दै दुई महिना अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लिपुलेक क्षेत्रको भ्रमण गर्दा किन बाटो बनाएको नदेखेको भन्दै कडा प्रश्न उठाए । नेकपा, नेपाली कांग्रेस, जसपा लगायत सबै दलका सांसदले सरकारले सीमा अतिक्रमण गरिरहँदा चुप लागेर बसेको आरोप लगाए ।

सांसदहरुले यो समस्यालाई कूटनीतिक तवरबाट समाधान गर्न चाहँदैन भने अन्तर्राष्ट्रियकरण गरिनुपर्ने माग समेत गरे । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले राष्ट्रियताका सवालमा नेपाली जनता एक भएको बताउँदै ६ महिना अघि सो क्षेत्र भारतको नक्सामा गाभेपछि सर्वदलीय सहमतिबाट समस्या समाधान गर्न सरकारलाई साथ दिएको स्मरण गर्दै अहिलेसम्म किन चुप लागेर बसेको आरोप लगाउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको दादागिरी नेपाली भूमि एक इच्छा पनि दिन्नौं भनेर कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै भारतको हेपाहा प्रवृत्तिको डटेर सामना गर्नुपर्ने माग गर्नुभयो । उहाँले रक्षामन्त्रीले केही समयअघि सो क्षेत्रमा भ्रमण किन गएको भन्दै प्रश्न गर्नभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले २०१२ देखि भारतले त्यहाँ बाटो बनाइरहेको थाहा थियो भने त्यतिबेलादेखि किन चुप लागेको भन्दै सरकारको यो कामको खेद व्यक्त गर्नुभएको छ । उहाँले दुई महिना अघि मात्रै उपप्रधान तथा रक्षामन्त्री सो क्षेत्रमा भ्रमणमा जानुभएको थियो भने त्यतिबेला त्यहाँ के गरेर आउनुभयो भन्दै सरकारले अब प्रेस नोट जारी गरेर हैन तत्काल प्रधानमन्त्री तहमा वार्ता गर्न आव्हान गर्नुभयो ।

त्यस्तै जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउनु पर्ने बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी विवाद मिल्न नसक्नुको कारण के हो भनी प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.