विश्व समाचार

कोरोना अपडेटः विश्वभर २ लाख ८० हजारको मृत्यु, कोरियामा क्लब र बार पुनः बन्द

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९४, स्पेनमा १७९ र फ्रान्समा ८० जनाको ज्यान गएको छ ।

उता दक्षिण कोरियामा कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नु भएको छ ।

भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गर्नु भएको छ ।

गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सियोलका मेयर पार्क वोन–सूनले सानो असावधानीले संक्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताउनुभयो ।

सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ ।

इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ ।

आइतबार भेटिएका ३४ जना नयाँ संक्रमितमध्ये २४ जना इताओनका मनोरंजन स्थलहरुमा पुगेका व्यक्ति रहेका कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९केसिडिसी० ले जनाएको छ ।

दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मूख भइरहेका बखत नयाँ संक्रमण देखिएको छ । सरकारले पनि गत बुधबारदेखि सामाजिक दूरीसम्बन्धी नियमलाई खुकुलो बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.