कर्पोरेट/पर्यटन

कसरी नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ?

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि यसको सुसंचालनका लागि झन्डै एक दर्जन सुझाव प्रस्तुत भएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल संचालन गर्न ती सुझाव दिइएको हो ।

व्यवस्थापनका तर्फबाट यो विमानस्थल नियमित सञ्चालन विषय समग्र मुलुकको संयन्त्रसँग जोडिएको भन्दै पर्यटन, अर्थ, स्वास्थ्य, उद्योग र परराष्ट्र मन्त्रालयको भूमिका बढी रहने उल्लेख गरिएको छ ।

यहाँ जडान भएको ‘आईएलसए’ (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम अप्रोच)लाई भारतको अनुमति प्राप्त हुन नसक्दा सञ्चालन गर्न सकिएको छैन । यो सञ्चालनमा आउन नसक्दा न्यूनतम १ हजार ८ सय मिटर भिजिबिलिटीमा मात्र उडान तथा अवतरण हुने गरेको छ ।

यसले हिउँदमा लामो सयम उडान हुन सकेको छैन । यसको विकल्पमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) अप्रोच विधि अपनाउन उपयुक्त हुने सुझाव दिइएको छ ।

यसबाट न्यूनतम १ हजार मिटर भिजिबिलिटीमा समेत जहाज अवतरण गर्न सक्छ । यसका लागि कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुरोधसमेत गरेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

त्यसै गरी यो विमानस्थलमा काठमाडौंभन्दा कम भाडामा जहाज उडाउन सके यात्रु आकर्षित हुने भन्दै व्यवस्थापनले आगामी आर्थिक वर्षको बजेटबाट यस्तो व्यवस्था गर्न सुझाव दिएको छ ।

साथै, यात्रु सेवा दस्तुर घटाउने, ग्राउन्ड ह्यान्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, गौतमबुद्धबाट उडान गर्ने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकको तुलनामा महँगो नहुने गरी इन्धन शुल्क तोके वायुसेवा कम्पनी आकर्षित हुने विश्वास लिइएको छ ।

त्यसै गरी अहिले यो विमानस्थलमा नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालमपुरबाट सातामा एक उडान गरिरहेको छ । यसअघि जजिरा एयरलाइन्सले उडान गरेको भए पनि अहिले बन्द छ ।

व्यवस्थापनले निगम र हिमालय एयरलाइन्सले चीन, भारत र बुद्धिस्ट मुलुकमा सञ्जाल विस्तार गराउँदा विमानस्थल र उडानसमेत प्रचार प्रसार हुने र अन्य वायुसेवालाई आउन समेत आधार बन्ने प्रस्ताव व्यवस्थापनको छ ।

विमानस्थल व्यवस्थापनले यो विमानस्थललाई ट्रान्जिट कार्गोका रूपमा विकास गर्न सुझाव दिएको छ । ट्राफिक लोडका कारण नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका लागि ‘फिफ्थ फ्रिडम राइट’ प्रदान गरी विमानस्थल उपयोग बढाउने नीति पर्यटन मन्त्रालयले लिनुपर्ने सुझाव व्यवस्थापनको छ ।

काठमाडौंको विकल्प

यो विमानस्थललाई वाइड बडी जहाजका लागि त्रिभुवन विमानस्थलको विकल्पका रूपमा विकास गर्नसमेत व्यवस्थापनले सुझाव दिएको छ । यसका लागि वायुसेवा निगमले वाइड बडीलाई आवश्यक ग्राउन्ड ह्यान्डलिङ उपकरण र जनशक्ति लैजानुपर्ने सुझाव व्यवस्थापनको छ ।

रोजगारीमा जानेको स्वास्थ्य परीक्षण भैरहवामै

अहिले खाडी मुलुकमा रोजगारीमा जाने यात्रुले मेडिकल परीक्षण काठमाडौंको तोकिएको टेस्ट सेन्टरमा मात्र गर्नुपर्ने बाध्यता छ । यो झन्झटले यसअघि हिमालय एयरलाइन्सले सुरु गरेको उडानसमेत प्रभावित भएको थियो ।

व्यवस्थापनले भैरहवाको सरकारी अस्पतालबाट परीक्षण गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल गर्न समेत सुझाव दिएको छ । भैरहवामै म्यानपावर कम्पनीको अफिस खोल्न श्रम मन्त्रालयले पहल गर्नुपर्ने समेत सुझाव व्यवस्थापनको छ ।

अन्तरप्रदेश उडान

व्यवस्थापनले यो विमानस्थललाई अन्तरप्रदेश उडान केन्द्र बनाउन प्रस्ताव गरेको छ । धनगढी, नेपालगन्ज, चन्द्रगढी, विराटनगर, जनकपुरबाट अन्तरप्रदेश उडान गरी यात्रुका लागि आवागमन सहज बनाउन समेत सुझाव दिएको छ । यसका लागि वायुसेवा कम्पनीसँग पर्यटन मन्त्रालय र प्राधिकरणले पहल गर्नुपर्ने समेत व्यवस्थापनको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.