जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन् : उपनेता पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताउनुभएको छ ।
पार्टीको प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढङ्गले क्रियाशील हुन आग्रह गर्नुभयो ।
उपनेता पराजुलीले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिनुभयो ।
“नेपालको लोकतन्त्र महत्त्वपूर्ण मोडमा उभिएको छ । यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक छ । त्यसको आधार तयार गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।
उपनेता पराजुलीले प्रशिक्षणबाट हासिल हुने अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संसद् र संसदीय समितिको भूमिका, पार्टी–संसद् र सरकारबीचको समन्वय, संसदीय मर्यादा र आचरण, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा प्रभावकारी नेतृत्व विकासजस्ता विषयमा प्रशिक्षण केन्द्रित रहने बताउनुभयो ।
“आजको राजनीति केबल नाराले चल्दैन । क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ । जनताले अब कसले के भन्योभन्दा पनि कसले के ग¥यो भन्ने आधारमा मूल्याङ्कन गर्न थालेका छन्”, उपनेता पराजुलीले भन्नुभयो, “रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ । त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता छ ।”
उहाँले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई सिकाइ, आत्ममूल्याङ्कन, अनुभव आदानप्रदान तथा भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
उद्घाटन समारोहपछि उपसभापति एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बन्द सत्रमा सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । यसैगरी महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रम आइतबार पनि जारी रहने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्