जन सरोकार

कोरोनाविरुद्धको अग्रमोर्चामा हिन्दू, इस्लाम मुस्लिम, क्रिश्चियन, बौद्ध र शिख धर्मगुरु

– काशीराम शर्मा

धार्मिक, सामाजिक र जातीय सद्भाव भड्किन नदिन र भड्की हालेको खण्डमा समस्या समाधान गर्न नेपालगञ्जका धर्मगुुरुहरु सक्रिय छन् । यसका लागि नेपालगञ्जमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्च गठन भएको छ । मञ्चले द्वन्द्व समाधान गर्दै पनि आएको छ । यो मञ्चमा हिन्दू, इस्लाम मुस्लिम, क्रिश्चियन, बौद्ध र शिख धर्मका धर्मगुरु आबद्ध छन् ।

यही मञ्चमार्फत यहाँको सद्भाव कायम राख्न, धार्मिक विवाद समाधान गर्न र हिंसा भड्किन नदिन नेपालगञ्जमा रहेका धर्मगुरुहरु एक ठाउँमा उभिन्छन् । मञ्चको पहिलो प्राथमिकता धार्मिक, जातीय एवं सामाजिक सद्भाव जोगाउने रहेको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । “धार्मिक द्वन्द्वका धेरै घटना मञ्चले मिलाएको छ”, उहाँले भन्नुभयो ।

बाँकेमा धार्मिक एवं सामाजिक सद्भाव अवस्था आए यहाँका सामाजिक, धार्मिक एवं मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले धार्मिक गुरुलाई गुहार्ने गर्छन् । यस अर्थमा बाँकेको धार्मिक र सामाजिक सद्भाव धार्मिक गुरुहरुको भरमा अडेको छ । बाँकेमा विभिन्न समयमा भड्केका धार्मिक, सामाजिक र जातीय सद्भावलाई यहाँका धर्मगुरुले समाधान गर्छन् ।
अहिले पनि नेपालगञ्जका धर्मगुरुहरु आ–आफ्नो धार्मिक काममा मात्र सीमित छैनन् । सामाजिक सद्भाव कायम गराउन पनि उत्तिकै सक्रिय छन् । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको अभियानमा नेपालगञ्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दू, इस्लाम, शिख, बौद्ध र इसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय छन् ।

विभिन्न धार्मिक सम्प्रदायको बसोबास रहेको नेपालगञ्जमा महामारीका विषयमा रहेको अनभिज्ञतालाई हटाउन धर्मगुरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । कोरोनाविरुद्धको अग्रमोर्चामा रहेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले धर्मगुरुको भूमिका अहिले निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरु हामीहरुसँगै कोरोनाविरुद्ध लडिरहनुभएको छ । समाजलाई सचेत गराउन उहाँहरुले खेलेको भूमिका अतुलनीय छ ।” मन्दिर, मस्जिदमा पुगेर स्वाब परीक्षण गराउन धर्म गुरुहरुको भूमिका महत्वपूर्ण छ । स्वाब परीक्षणपछि नेपालगञ्जमा २४ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । परीक्षण नगरिएको भए अझै भयावह हुने अवस्था थियो ।

धर्मगुरुहरु आफैँ नागरिकलाई सचेत गराउँदै हिँडेपछि अन्धविश्वासका नाममा स्वास्थ्यकर्मीलाई असहयोग गर्ने वातावरण अन्त्य भएको छ । “नेपालगञ्जको धार्मिक सद्भाव निकै राम्रो मानिन्छ । धर्मगुरुहरु नै हातेमालो गरेर हिँडेपछि आमनगारिकले त्यसको अनुशरण गरिरहेका छन्”, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले भन्नुभयो ।

धर्मगुरुहरु एक अर्काका धर्मविरुद्ध हुने अनावश्यक प्रचारबाजीविरुद्ध डटेर लाग्छन् । बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले मुस्लिम समुदायविरुद्ध भएका अनावश्यक टिप्पणीविरुद्ध बोल्दै भन्नुभयो, “कोरोना सङ्क्रमणका नाममा कुनै धर्म, जाति र समुदायलाई जोडेर अनावश्यक हल्ला फैलाउन बन्द गर्नुपर्छ ।” उहाँको यो भनाइले पनि धर्मगुरुहरु अहिलेको महामारीप्रति कति सजग र सचेत छन् भन्ने देखाउँछ ।

नेपालगञ्जलाई सद्भावको शहर भनिन्छ । यद्यपि केही तत्वले कहिलेकाहीँ सद्भाव बिथोल्न खोज्छन् । त्यस्तो अवस्था आउन नदिन अन्तरधार्मिक सञ्जाल बनाएरै धर्मगुरुहरु सामाजिक सद्भाव फैलाउन सक्रिय भइरहेका छन् । सामाजिक काममा आपत् विपत् पर्दा धर्मगुरुहरुलाई बोलाइन्छ । धर्मगुरुहरुबाट पनि कुनै नाइनास्ती हुँदैन । उनीहरु सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने कार्यमा सक्रिय हुन्छन् । खासगरी नेपालगञ्जको मुस्लिम समुदायमा कोरोनाको सङ्क्रमण धेरै देखिएपछि सामाजिक तथा धार्मिक सद्भाव बिथोलिन नदिन धर्मगुरुहरु सचेत छन् । “कुनै पनि रोगले जात, धर्म, समुदाय हेर्दैन । नेपालगञ्जमा मुस्लिम समुदायमा सङ्क्रमण अलि बढी नै देखिएपछि केही अफवाह बाहिर आएसँगै हामी त्यस्ता अफवाहलाई चिर्नका लागि सक्रिय भएका छौँ”, बागेश्वरी मन्दिरका महन्त योगीले भन्नुभयो, “अहिले कुनै जात, धर्म, समुदाय नभनेर कोरोनाविरुद्ध एकजुट हुन सन्देश दिइरहेका छौँ ।”

धर्मगुरुहरुले भनेको मान्ने भएकाले अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चलाई विवाद समाधान गर्न मद्दत मिलेको छ । धर्मावलम्बीले आ–आफ्नो धर्मगुरुले भनेको कुरा इन्कार गर्न नसक्ने भएकाले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सजिलो भएको बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीले बताउनुभयो । उहाँले अन्तरधार्मिक सद्भावका लागि सबै धर्मगुरुले आ–आफ्ना अनुयायीलाई सम्झाईबुझाई गर्दै आएको बताउनुभयो ।

धार्मिक हिंसा भड्किन थालेपछि वा अन्तर धर्मबीच विवाद भए प्रहरी, प्रशासनले समेत धर्मगुरुलाई गुहार्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “धार्मिक एवं सामाजिक सद्भावका लागि बाँकेका सर्वसाधारण पनि निकै चनाखो हुने गरेका छन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.