काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर बसपार्क नजिकै आगलागी हुँदा चालक तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मृतक तामाङ यसअघि पनि विभिन्न घटनामा अन्य व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र तथा कागजात प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा तामाङ संलग्न रहेको र घटनापछि फरार रहेको प्रहरीको भनाइ छ। उक्त घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताउनुभयो।
त्यस्तै, करिब तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत उनले दाबा तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।
त्रिपुरेश्वरको बस आगलागीको घटनामा भने दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग भएको परिसरले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुनसक्ने देखिएको छ। अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरी उनी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृतक तामाङले विभिन्न व्यक्तिको नाममा जारी भएका कागजात कसरी र कुन उद्देश्यले प्रयोग गर्दै आएका थिए भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताउनुभयो। (रासस)



प्रतिक्रिया राख्नुहोस्