नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बदलिंदो राजनीतिक परिस्थितिमा पुराना सबै राम्रा वा खराब मात्रै र नयाँ सबै राम्रा र खराब मात्रै भन्ने भाष्य बदलेर सहकार्यमा जुट्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै संयोजक प्रचण्डले विगतको त्याग वर्तमानको अपेक्षा पूरा गर्न आपसमा आरोप प्रत्यारोप हैन सहमति, सहकार्य आवश्यक रहेको भन्दै सो कुरा बताउनुभएको हो ।
सम्बोधनका क्रममा उहाँले आजको अवस्थासम्म आइपुग्न आफूहरूले कोरेको क्रान्तिकै बाटोमा टेकेर मुलुक समानुपातिक र समावेशी दिशामा अघि बढेकै कारण मधेशका बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै देशकै प्रधानमन्त्री बन्नु आफ्ना लागि गर्व लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालेन शाह काठमाडौंको मेयर हुँदै देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, मेरो लागि क्रान्तिकै संकल्पको जित हो भन्ने म ठान्दछु। मैले यसकारण पनि यो प्रशंग उठाएको हुँ कि, क्रान्तिका उपलब्धीमाथि गर्व गरिरहेको यही समाजकै पात्रलाई क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन् ।”
सम्बोधनका क्रममा संयोजक प्रचण्डले आफूहरुले सुरु गरेको सशस्त्र क्रानितको जगले स्थापित गरेको समावेशी र समानुपातिक व्यवस्था हिजो नभएको स्मरण पनि गराउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्र आइसकेको भनिए पनि २०४८ सालको संसदमा दलितको प्रतिनिधित्व जम्मा १ जनाको थियो। अहिले १७ जनाको छ। २०५१ र २०५६ मा एउटै पनि दलितको प्रतिनिधित्व थिएन। २०४८ सालमा जम्मा ६ जना महिला हुनुहुन्थ्यो। २०५१ र २०५६ मा १२ जना हुनुहुन्थ्यो। अहिले ९६ जना महिला हुनुहुन्छ। आदिवासी, जनजाति, उत्पीडित, मधेसी समुदायको हकमा पनि तथ्यांक यही हो ।”
सम्बोधनका क्रममा संयोजक प्रचण्डले आफूहरूले जीवनको सबैभन्दा उज्यालो समय अन्धकारसँग लडेर बिताएको भन्दै जनयुद्धको इतिहास बुझ्न अनुरोध पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, “म तपाईं सम्पूर्ण नयाँ माननीयहरूलाई इतिहास एकफेर अध्ययन गर्न, मनन गर्न आग्रह गर्छु। र, कथा क्रान्तिले लेखिएको छ। पिठ्युँमा दूधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ। मोल तोकिएका टाउकाहरूले लेखिएको छ।”
आफूहरुले क्रान्ति नगरेको भए आज बालेन्द्र शाह प्रधानमन्त्री बन्नै नसक्ने दावी गर्नुभएका संयोजक प्रचण्डले भन्नुभयो, “सामन्तवादविरूद्ध हामीले बोकेको बन्दुकले ढोका नखोलेको भए कहाँबाट प्रवेश गरेर यहाँ मन्त्री बन्नुहुन्थ्यो, दलित, उपेक्षित, उत्पीडित, महिला, जनजाति, आदिआदि ।”




प्रतिक्रिया राख्नुहोस्