आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक शृङ्खला अन्तर्गत पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको हो । मंगलबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जुटेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्सीले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले भने फिनले म्याकक्रियाथले ३५ रन बनाए । त्यस्तै माइकल इंग्लिस ३४ रनमा अविजित रहँदा माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाए ।
नेपालको लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवको भागमा समान दुई-दुई विकेट रह्यो । स्कटल्याण्डले दिएको २ सय ४४ रनको लक्ष्य दिएकोमा वर्षाका कारण खेल ३९ ओभरमा घटाएपछि नेपालले २ सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर नेपालले ३९ ओभरमा ७ विकेट गुमाएर २ सय १८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि गुल्सन झाले ३५ बलमा २ चौका र ५ छक्काको सहयोमा अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकीय इनिङ खेले भने आसिफ शेखले २१, कप्तान रोहित पौडेलले ३२, करण केसीले १८ र नन्दन यादव ८ रनमा अविजित रहे ।
स्कटल्याण्डका लागि ब्राड करिले तीन विकेट लिए भने मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेविडसन र ज्याक जाभ्रिसको भागमा समान एक-एक विकेट रह्यो । सिरिजमा नेपाल, स्कटल्याण्ड र अमेरिकाको सहभागिता रहेको छ ।
यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरजमध्ये चार खेलमा तीन जित निकालेको थियो । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्नेछ ।
आठ देश सहभागी लिग–२ मा २५ खेल खेलेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ भने दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २९ खेलबाट २६ अङ्क छ । यता शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्