राजनीति

विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहिबार सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो ।

असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । भेटवार्ता बूढानीलकण्ठस्थित एक निजी घरमा भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । शीर्ष तहको भेटवार्ताले एकता जोगिने आशा पलाएको नेताहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

नयाँ सरकार गठन र पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा छलफल गरी स्थायी कमिटीले निकासका लागि उपयुक्त निर्णय लिन अध्यक्ष ओलीलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिनुभएको छ ।

नेपालसहितका २८ सांसद वैशाख २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारीसमेत भएकामा नेताहरुको संवादसँगै अब उक्त कदम नहुने देखिएको छ ।

यद्यपि भेटवार्ताको परिणामका बारेमा केही बताइएको छैन । नेपाल पक्षमा रहेका सांसदहरुको राजीनामा रोकियो भने बहुमतको सरकार बनाउने कांग्रेस माओवादीको प्रयास असफल भएर अल्पमतको सरकार बन्नेछ । जसको नेतृत्व नेकपा एमालेले नै गर्नेछ ।

यस्तो स्थितिमा पार्टी एकता जोगाएर राख्ने हो भने प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएर अल्पमतको सरकारको नेतृत्वमा पठाउने सम्भावना पनि रहेको एमाले निकटस्थहरुले चर्चा गर्न थालेका छन् । नेता नेपालसहित चार प्रभावशाली नेतालाई गरिएको कारबाही फिर्ता लिएर अध्यक्ष ओलीले पार्टी एकता बचाउन चाहेको सन्देश दिनुभएको छ ।

आज (वैशाख ३०) गते साँझ नौ बजेसम्म दुई वा सोभन्दा बढी दलको सहभागितामा बहुमतीय सरकारको दावी पेश गर्न राष्ट्रपतिबाट आव्हान भएको छ । नेपाल समूहका सांसदहरुले राजीनामा दिएमा कांग्रेस र माओवादी केन्द्रलाई उपलब्ध सांसद संख्याका आधारमा बहुमतको सरकार बनाउन सजिलो हुनेछ । एमाले एकता बच्यो भने पुनः एमालेकै सरकार बन्नसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.