व्यापक आलोचनापछि पूर्व राजालाई गृहमन्त्रालयले दियो झापाबाट काठमाडौं आउने पास

बिहिबार पूर्व राजा ज्ञानेन्द्र शाहले जिल्ला प्रशासन झापाबाट पास लिएर काठमाडौं आउने तयारी गर्दा गृह मन्त्रालयले पास रद्द गरेको भए पनि अन्ततः बिहीबार राति नै पास दिएको छ । पूर्व राजालाई पास नदिएको समाचार बाहिरिएसंगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको थियो ।
बिहीबार राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो । यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो । निर्णयको विरोध भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो ।
झापका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बिहिबार बेलुकी नै पास दिइएको बताउँदै उहाँहरु शुक्रबार बिहान आठ बजे काठमाडौंका लागि प्रस्थान गरिसकेको बताउनुभयो ।
बिहीबार पूर्वराजा शाह दम्पत्तीले काठमाडौं आउन पासको सिफारिस मागेको भए पनि प्रक्रिया नपुगेको भन्दै गृहले खारेज गरेको थियो । अहिले पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।
गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन कडा गरेको छ । त्यसैलाई कडाइ गर्ने कदम अन्तरगत पहिले जारी भएका सम्पूर्ण पास खारेज गर्ने निर्णय मन्त्रालयले गरेको थियो ।
नयाँ निर्णय अनुसार स्वास्थ्यको समस्या वा मृत्यु संस्कारका लागि मात्रै पास उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्