अर्थ

अर्बपति चौधरीको संयोजकत्वमा लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण समिति गठन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्बपति तथा सांसद विनोद चौधरीको संयोजकत्वमा देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी आवश्यक कार्य गर्न ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ ।

पार्टीको गत वैशाख १७ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले सो समिति गठन गर्नुभएको हो ।

सांसद विनोद चौधरी संयोजक रहनुभएका समितिमा पार्टी नेताहरु दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य रहनुभएको छ ।

समितिलाई तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिने कार्यादेश दिइएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ । समितिको सङ्ख्या २१ मा नबढ्ने गरी थप गरिने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.