राजनीति

आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ : सांसद केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउँदै दाजुभाइ बेच्नेलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गर्नुभयो ।

यसै गरी सांसद हितराज पाण्डेलले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयले देश तातेको र सरकारले दृढताका साथ यो विषयलाई अगाडि बढाएकोप्रति जनतामा आशा जागेको भन्दै दोषीलाई कारबाही गरेर जनताको आशालाई विश्वासमा परिणत गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उचित छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचारलाई निर्मूल गर्न आम नेपालीको एकता चाहिने भन्दै विगतका भ्रष्टाचारको पनि छानबिन गरिनुपर्ने बताउनुभयो ।

यस्तै सांसद राजेन्द्र बजगाईंले विकास निर्माणमा बजेट काटिएको भन्दै गुनासो गर्नुभयो । उहाँले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.