राजनीति

पोखरा हङकङ बजारका साना व्यवसायीलाई राहत उपलब्ध गराउन माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विद्या भट्टराईले गाईभैंसीमा देखिएको लम्पी स्किनका कारण पशुहरु मरिरहेको र यस घटनाले किसानलाई चिन्तित बनाएको बताउनु भयो ।

उहाँले सङ्क्रमण रोकथाम तथा पीडित किसानलाई राहत उपलब्ध गराउन र  पोखरा हङ्कङ बजारका साना व्यवसायीलाई राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विनिताकुमारी सिंहले देशमा रहेको बेरोजगारी समस्या समाधान गर्न सबै स्थानीय तहमा ग्राम उद्योग र दक्षजनशक्तिका लागि तालिम केन्द्र स्थापना गर्न माग गर्दै त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद वीरबहादुर बलायारले देशको छवटै राजधानी बन्दै गर्दा अहिलेसम्म सुदूरपश्चिम प्रदेशको राजधानी किन बनेन र अहिलेसम्म केन्द्रीय सरकारले किन भोगाधिकार दिँदैन भनी प्रश्न गर्नुभयो । उहाँले सुदूरपश्चिममा गेटा मेडिकल कलेजलाई चाँडो मेडिकल कलेजका रुपमा सञ्चालन गर्न माग गर्नुभयो । भूकम्पीडितलाई राज्यले राहत उपलब्ध गराउनुपर्नेमा उहाँको जोड छ ।

सांसद विराजभक्त श्रेष्ठले वर्षात सुरु भएको र डेङ्गुको सङ्क्रमणको खतरा बढेको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुषालले बुटवल–नारायणगढ सडक स्तरोन्नति द्रूत गतिमा अघि बढाउन प्रभावकारीरुपमा अघि बढाउन माग गर्नुभयो । सांसद शान्ति चौधरीले बर्दियाको राजापुरको १८ बिघामा पाँच सय घरधुरीमध्ये थोरैले मात्रै लालपुर्जा पाएको भन्दै सबै घरधुरीलाई लालपुर्जाको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सीता मिजारले राजधानी खहरे टोखा सुरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति विकले पछिल्लो समय एकपछि अर्को आत्महत्याका घटना बढिरहेको र पछिल्लो वैशाख १९ गते चितवनका एक पोल्ट्री व्यवसायी शङ्कर कँडेलले आत्महत्या गरेको र आत्महत्याको कारण आर्थिक भएको जनाउँदै ‘सुसाइड नोट’ लेखेको भए पनि हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पक्राउ नपर्नुको कारण माग गर्नुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन दुरुत्साहन गर्नेलाई कडा सजायको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद शान्ति श्रेष्ठले भूमिहीनको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुमना श्रेष्ठले नयाँ पुस्ताको प्रतिनिधित्व गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

सांसद सुशीला श्रेष्ठले नेपाल सरकार र जापान सरकारको संयुक्त लगानीको उदयपुर सिमेन्ट उद्योगले गत आर्थिक वर्ष झण्डै रु पाँच करोड नाफा कमाएको तथा सरकारी उद्योग धराशायी बन्ने अवस्थामा यो सकारात्मक उपलब्धिलाई ध्यान दिएर राम्रो गर्ने उद्योगलाई प्रोत्साहन र खराब गर्नेलाई दण्डसजायको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले गत वैशाख २७ गते दैलेखको आठबीसस्थित सामुदायिक वनमा आगलागीको घटनामा परी एकको मृत्यु भएको र कैयन घाइते रहेका भन्दै घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद सीताकुमारी रानाले पनि आगलागीबाट घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न र पीडितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद सोविता गौतमले काठमाडौँको पेप्सिकोला ब्रम्हखेल सडकखण्ड र साँखु थली सडकखण्डको बाँकी सडक स्तरोन्नति गर्न भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हर्कमाया विश्वकर्माले वैशाख १८ गते झापा बिर्तामोडका सुजन सुनार उम्लिएको खोलेमा परेर गम्भीर घाइते भई हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको र आर्थिक अवस्थाले उपचारमा कठिनाइ भएको भन्दै निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ सहर प्रदूषित बनिरहेको र उपत्यकाको सडक जामले रु एक खर्बभन्दा बढी आर्थिक क्षति भइरहेको भन्दै यो भविष्यका लागि धेरै ठूलो चुनौतीको विषय भएकाले जटिल समस्याको समाधानका लागि कार्यतालिका बनाएर काम गर्न जरुरी भएको बताउनुभयो ।

सांसद हृदयराम थानीले कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र हाल लुम्बिनीको नेपालगञ्जमा रहेको भन्दै त्यसलाई कर्णालीमै स्थानान्तरण गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हरि ढकालले पूर्वी चितवन बाढीको उच्च जोखिम रहेको र पूर्वी राप्तीमा उचित तटबन्धन नहुँदा बर्सेनि क्षति पु¥याइरहेको र अन्य सहायक खोलाको तटबन्धनका लागि उचित बजेट तर्जुमा गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद हेमराज राईले स्थानीय सरकारलाई कानुन, दक्षजनशक्ति, उपकरण र बजेटद्वारा सबल गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.